
‘सरकारको मुख ताके कहिले कहिले, आफूले गरे अहिले’
गत भदौ ११ गते गोरखाको पुंगेनमा हिमपहिरो झर्यो । त्यसले चुमनुब्री २ को ल्हो र स्याला बीच भएर बग्ने थोसाङ खोलामा बाढी आयो । बाढीले ल्हो र स्यालाका बासिन्दा तथा मनास्लु पदमार्गका पर्यटक हिड्ने काठेपुल बगायो ।
त्यही दिनमा चुमनुब्री ४ नाम्रुङमा थेराङ खोलाले चारघर काठेपुल तथा फलामे पुल बगाएको थियो । साथै नाम्रुङभन्दा तल सुक्सममा बूढीगण्डकीले अर्को एक झोलुंगे पुल पनि बगाएको थियो । त्यस लगत्तै ल्हो र स्यालाका स्थानीयबासी मिलेर थोसाङ खोलामा फेरि काठे पुल थापेका स्थानीय छिरिङ धार्के लामाले बताए ।
घटनाको एक महिना नबित्दै गत असोज ११ गते शनिबारको बर्षाले फेरि सोही पुल बगायो । ‘पुंगेन ग्ल्यासियरले यहाँको थोसाङ खोला, धुन्सुम खोला र नुम्ला खोलामा समय समयमा बाढी आइरहन्छ, पुल बगाइरहन्छ’, उनले भने, ‘अनि गाउँलेहरुले बनाइरहन्छन् । यसो गर्दागर्दा बानी नै परिसक्यो । अहिले त एक महिनाभित्रै दुईफेर बगाइसक्यो । फेरि गाउँलेहरु जुटेर बनाइसकेका छन् ।’
गाउँका स–साना काममा स्थानीयबासीले सरकारको मुख नताक्ने उनको भनाइ छ । ‘सबै गाउँले मिलेर एकदिन काम ग¥यो भने पुल बन्छ । सरकारलाई गुहार्न थाल्यो भने बर्ष बित्छ । त्यसैले गाउँले सरकारको मुख ताक्दैनन् । आफै मिलेर बनाउँछन्’, उनले भने । पुल बनेपछि अहिले पर्यटक र स्थानीयबासी निर्वाध आवतजावत गरिरहेको उनले बताए ।
हरेक बर्ष काठे पुल बनाइरहनु पर्ने यहाँ झोलुंगे पुलको खाँचो रहेको उनको भनाइ छ । ‘हजारौं विदेशी पर्यटक र स्थानीयबासी हिड्ने मुलबाटोकै पुल हो तर सँधै काठे पुलकै भर छ’, उनले भने, ‘अब यहाँ प्रदेश सरकारले झोलुंगे पुल बनाइदिए हुन्थ्यो ।’




