
जिल्लामै शिक्षा, स्वास्थ्य, रोजगारको अवसर बढाऔँ
अहिले एसईई दिएकाहरुलाई सोध्ने हो भने कति प्रतिशतबाट जिल्लाभित्रै पढ्ने उत्तर आउला ?
सामुदायिक विद्यालय पढ्नेहरु प्रायजसोले एघार र बाह्र पनि जिल्लाभित्रै पढ्ने भन्लान्, तर नाम चलेका बोर्डिङ स्कूल पढ्ने एकाधले मात्र जिल्लामा पढ्ने उत्तर दिनेछन् । एघार र बाह्र कक्षा पढेपछि कति प्रतिशतले जिल्लाभित्रै स्नातक पढ्ने योजना सुनाउलान् ? ज्यादै न्यूनले मात्र जिल्लाभित्रै पढ्ने भन्नेछन् । प्रयोग गरेर हेरौँ ।
यो भन्दा अघिकै कुरा गर्नुपर्दा, जसै गाउँघर, दूरदराजबाट छोराछोरी पढाउन सदरमुकाम लगायतका सहरी क्षेत्रमा आमाहरु बसाइँ सरी आएका छन्, त्यही अनुपातमा सदरमुकाम लगायतका सहरी क्षेत्रका बा, आमा छोराछोरी पढाउन राजधानी लगायतका सहरमा बसाइँ सर्ने गरेका छन् । राजधानीका पनि इलिट परिबारका सन्तान स्कूल लेभल पढ्नका लागि अमेरिका, यूरोप लगायतका मुलुकमा पुगेका छन् ।
यो चक्र घुमिरहेको छ । मुलुकको सामाजिक अर्थ राजनीति यही अवस्थामा रहँदासम्म यो चक्र त्यसरी नै घुमिरहनेछ ।
यस्तो हुनुमा दुईवटा कारण छन् । पहिलो कारण गुणस्तरीय शिक्षा, दोस्रो कारण रोजगारीको अवसर ।
संघीयताको खाँचो किन देखियो ? स्थानीय तह सबल बनुन्, सक्षम बनुन्, सामाजिक, आर्थिक, राजनीतिक हिसाबले स्थानीय तहको स्तरोन्नति होओस् भन्ने लक्ष्य हो । तर संघीय शासन व्यवस्था होओस् वा केन्द्रीकृत पुरातन शैलीमै शासन व्यवस्था चल्ने हो भने मुलुकले ऋणत्मकताबाहेक धनात्मकतातिर प्रवेश पाउँदैन ।
पात्र मात्र फेरिने परिपाटीले कुनै तात्विक भिन्नता राख्दैन । यदि पद्धति र प्रवृति फेरिएन भने, शैली फेरिएन भने परिवर्तनको आभास हुनेछैन । तसर्थ प्रायोगिक तथा व्यवहारिक शिक्षाबाट दक्ष, सीप तथा तालिमप्राप्त जनशक्ति बढाऔँ, स्थानीय तहभित्रै रोजगारी सिर्जना गरौँ । पढ्दै कमाउने अवसर सिर्जना गरौँ, स्थानीय तहभित्रै उच्चस्तरको स्वास्थ्य सेवा पाउने वातावरण बनायौँ भने बसाइँसराइको दर घट्नेछ । मुलुकमा परिवर्तनको रुपरेखा देखा पर्नेछ ।




