
धन्सिरा मावि घ्याच्चोकको स्वर्ण महोत्सव सम्पन्न
छ दिने विभिन्न कार्यक्रम गरी धन्सिरा मावि घ्याच्चोकको स्वर्ण महोत्सव सम्पन्न भएको छ ।
अजीरकोट गाउँपालिका १ स्थित सो विद्यालयको स्वर्ण महोत्सव फागुन ७ गतेदेखि १२ गतेसम्म विभिन्न कार्यक्रम गरीसम्पन्न भएको हो ।
स्वर्ण महोत्सवको अवसरमा आयोजित मावि स्तरीय नृत्य प्रतियोगितामा प्रभा माध्यमिक विद्यालय अपुनले प्रथम पुरस्कार जितेको थियो । साथै ज्ञानज्योति मावि लप्सीबोटले दोस्रो र ताराचन्द्र माविले तेस्रो स्थान हाँसिल गरेका थिए । आठ विद्यालय प्रतियोगितामा सहभागी थिए ।
त्यस्तै अजीरकोट पालिका स्तरीय अन्तर आधारभूत विद्यालय फुटबल प्रतियोगितामा आयोजक धन्सिरा मावि प्रथम, भच्चेक आधारभूत विद्यालय दोस्रो र ज्ञानज्योति मावि लप्सीबोटले तेस्रो स्थान हासिल गरेका थिए ।
त्यस्तै पालिकाभरिका शिक्षकहरुको मैत्रीपूर्ण भलिबल खेल पनि भएको थियो ।
२०२९ सालमा स्थापना भएको सो विद्यालयको संस्थापकदेखि अहिलेसम्म योगदान दिने विभिन्न सामाजिक व्यक्तित्व, व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यहरु, पूर्व प्रअ तथा शिक्षकहरुलाई सो अवसरमा सम्मान गरिएको थियो ।
स्वर्ण महोत्सवको अवसरमा विद्यालयको आन्तरिक खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरु पनि भएका थिए । पूर्व विद्यार्थीहरुको पुनर्मिलन कार्यक्रम पनि आयोजना गरिएको थियो ।
स्वर्ण महोत्सव समारोह सञ्चालन गर्न करिब चारसय दाताहरुबाट करिब १८ लाख रुपैयाँ संकलन भएको प्रअ वीरबहादुर गुरुङले जानकारी दिए । त्यसमध्य पाँचलाख ५० हजार रुपैयाँ बराबरको छात्रवृत्ति वितरणका लागि अक्षयकोष स्थापना गरिएको उनले बताए । संकलित रकम र खर्च बारे एकहप्ताभित्र विस्तृत विवरण सार्वजनिक गर्ने योजना रहेको गुरुङले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जरजंग गुरुङको अध्यक्षतामा सम्पन्न समापन समारोहमा प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले विजयीहरुलाई पुरस्कार प्रदान गरेका थिए ।




