
गोरखामा गुरुङ जातिको थर र उपथरको बारेमा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
गोरखामा गुरुङ जातिको थर र उपथरको बारेमा प्रशिक्षण तथा अन्तरत्रिया कार्यक्रम सम्पन्न भएको छ । तमु ह्युल छोँज धि केन्द्रीय समिति काठामाण्डौको आयोजना तथा तमु ह्युल छोँज धि जिल्ला कार्य समिति गोरखाको समन्वयमा प्रशिक्षण कार्यक्रम भएको हो ।
तमु एकता एवं तमुहरुको थर तथा उपथरको बारेमा जानकारी दिन प्रशिक्षण कार्यक्रम संचालन गरिएको तमु ह्युल छोँज धिका केन्द्रीय समितिका महासचिव डम्बर गुरुङले बताए । तमुहरुको आदिम स्थल गण्डकी प्रदेश भएको र यहाँका जिल्लाहरुमा स्थलगत रुपमा अध्ययन, अनुसन्धान, छलफल गर्दै गुरुङ जातिभित्रका थर र उपथरको बारेमा टिपोट गर्ने कार्य भइरहेको उनले बताए । उनका अनुसार यो अभियान गोरखा, तनहुँ, लमजुङ हुदै स्याङ्जामा पुगेर टुङ्गिनेछ । अहिले गुरुङ जातिभित्र रहेका थर र उपथरको स्रोत यकिन गरी अध्यावधिक गर्ने कार्य भइरहेको उनले बताए ।

यसले गुरुङ समुदायभित्रका आफ्नो संस्कृतिका संरक्षण गर्न, एउटै जातिभित्र दाजुभाई लगायत पारिवारिक सम्बन्ध जोडन, आउने नयाँ पुस्तालाई आफनो जातिको इतिहासको बारेमा जानकारी दिन र गुरुङ समुदायभित्र आइपर्ने विभिन्न कानुनी विषयलाई सहज रुपमा समाधान गर्न सो कार्यक्रम संचालन गरिएको महासचिव गुरुङले जानकारी दिए । सबै थर र थरभित्रको उपथर तथ्यांक निकालेसँगै छिट्टै पुस्तक सार्वजनिक गरिनेछ ।
तमु ह्युल छोँज धि, जिल्ला कार्य समिति गोरखाका अध्यक्ष रामबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा तमु ह्युल छोँज धिका केन्द्रीय समितिका महासचिव डम्बर गुरुङ, केन्द्रीय समितिका उपाध्यक्ष धनबहादुर गुरुङ, लक्ष्मण गुरुङ, केन्द्रीय समितिका सल्लाहाकार डा. टेक बहादुर गुरुङ, केन्द्रीय समितिका सल्लाहाकार टेकबहादुर गुरुङ, धार्चे गाउँपालिकाका निवर्तमान अध्यक्ष सन्तोष गुरुङ लगायत गोरखाका विभिन्न स्थानबाट आएका स्थानीयहरुको सहभागिता रहेको थियो ।




