| मङ्लबार, कार्तिक २४, २०८३

त्रिभुवन विश्वविद्यालयद्वारा गोरखा क्याम्पसलाई क्यूएए प्रमाणपत्र प्रदान

गोरखाको एक मात्र सरकारी क्याम्पस गोरखा क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन(क्यूएए) प्रमाणपत्र प्राप्त गरेको छ ।
शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद्को सिफारिसमा विश्वविद्यालय अनुदान आयोगबाट प्रत्यायनकृत गरेको त्रिभुवन विश्वविद्यालयले जनाएको छ । संस्थागत गुणस्तर परीक्षणका सबै चरणहरु पार गरी प्रत्यायनकृत भएकाले विश्वविद्यालयले बुधबार एक समारोहको आयोजना गरी गोरखा क्याम्पसलाई प्रमाणपत्र प्रदान गर्ने जनाएको छ ।

प्रत्यायनकृत गर्ने आयोगको निर्णयानुसार क्याम्पसलाई औपचारिक रुपमा संस्थागत गुणस्तर सुनिश्चितता तथा प्रत्यायनको प्रमाणपत्र प्रदान गर्न आमन्त्रण गरेकाले सो समारोहमा सहभागी हुनका लागि क्याम्पस संचालक समितिका अध्यक्ष तथा क्याम्पस प्रमुख रामशरण बानियाँ, आन्तरिक गुणस्तर सुनिश्चितता समितिका संयोजक सञ्जय अधिकारीसहित प्राध्यापक संघ, कर्मचारी संघका प्रतिनिधिहरु र स्वमूल्याइन टोलीका सदस्यहरु विश्वविद्यालय अनुदान आयोग गएका छन् ।

प्रमाणपत्र बुधबार बिहान १० बजे विश्वविद्यालय अनुदान आयोगको सभा कक्षामा वितरण गर्ने कार्यक्रम रहेको क्याम्पस प्रमुख बानियाँले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्