
लघुवित्तको उपयोग गर्न नजान्दा हैरान
लघुवित्त वित्तीय संस्था नपुगेको गाउँबस्ती विरलै होला । ग्राहक वैँक धाउने होइन, वैँक ग्राहकसम्म धाउने हो भन्ने सिद्धान्तमा आधारित लघुवित्त वित्तीय संस्था अहिले नेपालका हर गाउँ बस्तीमा व्यप्त छ ।
एक हिसाबले हेर्दा लघुवित्तका सिद्धान्त सही छन्, गतिविधि ठिक छन् । सहरका वैँकमा गाउँका सर्वसाधारण सेवाग्राहीले पाएको सास्ती हेर्दा घरघरमा पुगेर कर्जा प्रवाह गर्ने लघुंिवत्त धेरै हदसम्म ठिक लाग्छ । तर कतिपय अबस्थामा लघुवित्तले गर्दा सर्वसाधारणले पाएको सास्ती हेर्दा कानूनी राज्य नाङ्गो भए जस्तो पनि लाग्छ ।
गत आइतबार एनआईसी एशिया नामक लघुवित्त वित्तीय संस्थाका कर्मचारी र गण्डकी ६ लुप्राङका चेपाङ महिला बीच हात हालाहाल भयो । तीनलाख रुपैयाँ कर्जा लिएर नतिरेकी लुप्राङकी डल्लीमाया चेपाङमाथि लघुवित्तका कर्मचारी जगत गुरुङ जाइलागे । उनले प्रतिवाद गरिन् । घटना सुन्दा अचम्म लाग्ने, वैँक र ग्राहक बीच हात हालाहाल । तर वास्तविकता यस्तै थियो ।
लघुवित्त वित्तीय संस्थाहरु वैंकिङ कारोबार गर्ने भन्दै घरदैलो गर्ने गरेको सबैले देखेकै हो । गाउँका पढ, अनपढ महिलाहरु भेला गर्दै पैसा उठाउँदै, लगानी गर्दै ‘टार्गेट’ पूरा गर्ने क्रममा गाउँमा धेरैको बास खेदिएको छ । यस बारेमा जानकार नभएका बिरलै होलान ।
ऋणीको उठिबास हामीले गराएको होइन भन्नका लागि लघुवित्त वैँकको तर्क पनि ठिकै हुनसक्छ । लघुवित्तले ऋण जबर्जस्ती कोचाउन गएको त छैन । ग्राहक आफैले राजीखुशीले कर्जा लिने हुन् । उनीहरुले तिर्दैनन त वैँकले छुट दिने कुरा पनि भएन । न त सरकारले उनीहरुले ऋण नतिरेबापत लघुवित्तलाई क्षतिपूर्ति दिने व्यवस्था छ ।
‘टार्गेट’ छुने लोभले जो पायो त्यहीलाई सजिलै ऋण लिन उत्प्रेरित गरियो । पाँच जनाले ताली बजाएकै भरमा कर्जा लगानी गरियो । उसले ऋण कसरी तिर्छ भनेर अध्ययन गरिएन । तोकिएको काम उसले गरेको छ कि छैन, अनुगमन गर्ने प्रयास पनि गरिएन । यी सबै कुरा व्यवस्थित गरियो भने लघुवित्त पनि बरदान बन्न सक्छ ।




