
सिरानचोकको बजेट ७५ करोड ६४ लाख
सिरानचोक गाउँपालिकाको आगामी आर्थिक बर्ष २०८१/८२ को बजेट ७५ करोड ६४ लाख रहेको छ । गाउँसभामा पालिकाकी उपाध्यक्ष रिता देवकोटाले उक्त बजेट सार्वजनिक गरेकी हुन् । संघीय सरकारबाट ५५ करोड ९४ लाख ९९ हजार, प्रदेश सरकारबाट ३ करोड ५३ लाख बजेट प्राप्त हुने अनुमान गरिएको छ ।
संघीय सरकारको राजश्व बाँडफाँड वापत ९ करोड २१ लाख ९९ हजार, सशर्त अनुदानतर्फ ३० करोड ८३ लाख, वित्तिय समानिकरणतर्फ १३ करोड रकम प्राप्त हुने देवकोटाले बताइन् । १ करोड ५० लाख समपुरक अनुदान र १ करोड ४० लाख बिशेष अनुदान संघीय सरकारबाट प्राप्त हुने उनले प्रस्तुत गरेको बजेट वक्तव्यमा उल्लेख छ ।
प्रदेश सरकार मार्फत वित्तिय समानिकरणतर्फ १ करोड ८५ लाख, समपुरक अनुदानतर्फ ८० लाख र बिशेष अनुदानतर्फ २० लाख प्राप्त हुने अनुमान गरिएको छ । प्रदेश सरकार अन्तरगत राजश्वतर्फ ६८ लाख रकम आउने अनुमान गरिएको देवकोटाले जानकारी दिइन् ।
१ करोड १६ लाख आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य बजेटले राखेको छ । आर्थिक बर्ष २०८०/०८१ को करिव १५ करोड रुपैया बाँकी रहने पालिकाको अनुमान छ । आगामी आर्थिक वर्ष तलव तथा प्रशासनिक खर्चतर्फ ९ करोड ९१ लाख ४८ हजार खर्च हुने बताइएको छ ।
आर्थिक बिकास तर्फ १ करोड ५२ लाख छुट्याइएको छ । सामाजिक बिकास क्षेत्रतर्फ २ करोड २८ लाख, पूर्वाधार क्षेत्रपर्फ २ करोड २८ लाख, वन वातावरण तथा विपद व्यवस्थापन तर्फ ७६ लाख छुट्याइएको छ । त्यस्तै संस्थागत बिकास तथा सुशासन क्षेत्रका लागि ७६ लाख विनियोजन गरिएको छ ।
वडा स्तरीय योजना तथा कार्यक्रमका लागि ५ करोड ८ लाख विनियोजन भएको छ । वडा नम्वर १ का लागि ५३ लाख ७७ हजार, वडा नम्वर २ का लागि ६० लाख ९८ हजार, वडा नम्वर ३ का लागि ६० लाख ३६ हजार र वडा नम्वर ४ का लागि ६४ लाख ९६ हजार छुट्याइएको छ ।
यता वडा नम्वर ५ का लागि ६४ लाख ६३ हजार, वडा नम्वर ६ का लागि ६७ लाख ८० हजार, वडा नम्वर ७ का लागि ६५ लाख ९० हजार र वडा नम्वर ८ का लागि ६९ लाख ६० हजार विनियोजन गरिएको पालिका उपाध्यक्ष देवकोटाले बताइन् ।