| आइतवार, कार्तिक २९, २०८३

भूकम्पको काममा खट्नु पर्दा विकास र संवृद्धिको काम प्रभावित

भूकम्प पीडितको समस्या समाधान मा लामो समय खर्च गर्नु परेका कारण विकास र संवृद्धिका लागि समय दिन नपाएको गोरखाका जनप्रतिनिधिहरुले गुनासो गरेका छन् । विकासको काममा खट्ने समयमा लाभग्राहीको सूचीमा नाम नपरेको, किस्ता रकम पाउन नसकेको, घर बनाउने जग्गा नपाएको जस्ता समस्याले गाँजेको गोरखा नगरपालिकाका मेयर राजन पन्तको भनाइ छ ।
‘सबै कामको ५० प्रतिशत काम त भूकम्प पीडितको मात्रै हुन्छ’, पन्त भन्छन्, ‘सबैभन्दा धेरै गुनासो लाभग्राही सूचीमा नाम परेन भन्ने बारे आउँछ । कोही नाम त आयो, पैसा पाइएन भन्छन्, कोही लालपूर्जा नहुँदा घर बनाउन पाइएन भन्छन् । कतिपयले भने पैसा लिएर पनि लापार्बाहीका कारण घर नबनाई बसेका पनि छन् ।’ भूकम्पसम्बन्धी विविध समस्याले अल्झाउँदा लक्ष्यअनुसार काम गर्न नसकिएको उनी बताउँछन् ।
पर्यटन क्षेत्रमा धेरै काम गर्ने योजना भए पनि भूकम्पपछिको पुनर्निर्माणमा अल्झनु परेकाले चाहेजस्तो काम गर्न नसकिएको धार्चे गाउँपालिकाका प्रमुख सन्तोष गुरुङको भनाइ छ । ‘अहिले रेटूोफिटिङको कुरा नबुझेर गाउँलेहरु अन्यौलमा छन् । यस्ता मान्छेहरु पुनरावेदन गर्न आएका छन् । पुनरावेदनको नाम कहिले निस्कने हो भनेर सोधेर हैरान गर्छन्’, उनी भन्छन्, ‘तीनलाख रुपियाँ अनुदान लिएर बनाएको घर गएको असार, साउनमा पहिरोले बगाएको छ । उनीहरुको हकमा के हुन्छ ? घर बनाउने जग्गा नभएर अर्काको जग्गामा भाडा तिरेर बसेकालाई दुईलाख दिने कहिले हो ? यस्ता समस्याले अल्झाइरहेको छ ।’ भूकम्पको काममा अल्झनु नपरेको भए पर्यटन क्षेत्रमा धेरै अघि बढ्ने उनले बताए ।
भूकम्प पीडितको समस्या र नियमित काम गर्ने जनशक्तिको पनि अभाव भएको बारपाक सुलीकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टको भनाइ छ । ‘नियमित काम गर्ने कर्मचारीको त अभाव छ, झन भूकम्प पीडितको काम समेत तिनै कर्मचारीले गर्नुपरेको छ’, भट्टले भने, ‘यसले गर्दा काममा कति समस्या छ, कति ।’ ४५ महिना बितिसक्दासम्म गुनासो सम्बोधन नभएको भूकम्प पीडितहरुको गुनासो रहिरहेको उनले बताए । ‘गुनासो सम्बोधन भएन भन्ने गुनासो धेरै छ । कतिपय लाभग्राही मरिसके । कोही लाभग्राही घर बनाउन अनिच्छुक छन् । उनीहरुको विवरण तयार गर्नुप¥यो । जग्गा प्राप्तिको लागि पहल गर्नुप¥यो’, भट्ट भन्छन्, ‘हामीलाई यस्तै यस्तै कामले अल्मल्याइरहेको छ ।’ भूकम्पपछि आएका दातृ निकायले विद्यालय, स्वास्थ्यचौकी, पुल लगायतका पूर्वाधार निर्माण गरेर केही सकारात्मक काम पनि भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्