
बूढीगण्डकी माथि दुई ठाउँमा तुइन बनेपछि धार्चेका बाढी पीडित खुसी
प्रतीक्षा आले
कुनै समय तुइनको यात्राबाट हुने जोखिम न्यूनिकरण गर्नका लागि सरकारले तुइन विस्थापित गर्ने घोषणा गरेको थियो । घोषित नीति अनुसार देशैभरका प्रायः सबै तुइनहरु विस्थापित समेत भैसकेका थिए । यहाँ पनि तीन दशकअघिसम्म तुइन थियो । झोलुंगे पुल बनेपछि तुईन बिस्थापित भएको थियो । तर अहिले बूढी गण्डकीको बाढीले ३० बर्ष अघिको अवस्थामा फर्काइदिएको छ । बाढी पीडित बूढीगण्डकी क्षेत्रका बासिन्दाहरु त्यही तुइन पाउँदा पनि हर्षित हुनुपर्ने अवस्थामा छन् ।
धार्चे गाउँपालिकाको केन्द्र माछाखोला र धार्चे २ लामावेशी, केरौजा गाउँ जोड्ने गरी बिहिबार तुइन राखिएको छ । दुई दिनअघि मात्र धार्चे–३ खोर्लावेशी र वडा नं २ केरौँजावेशी जोड्ने गरी तुइन निर्माण भएको धार्चे २ का वडाअध्यक्ष सरोज गुरङले बताए ।
राखिएका यी दुवै तुइनहरु सस्पेन्सन ब्रिज डिभिजनले निर्माण गरेको हो । तुइन बनेपछि नदीमाथि बिजुलीको तार टाँगेर त्यसमै चामलको बोरा तारेर छाक टार्ने अवस्थाको अन्त्य भएको भन्दै स्थानीयबासी खुशी भएका वडाअध्यक्ष गुरुङको भनाइ छ ।
झोलुङ्गे पुल बनाउने प्रमुख निकाय सस्पेन्सन ब्रिज डिभिजनले आपतकालिन अवस्थामा स्थानीय आवतजावतमा सहजता ल्याउन तुइन राखेको वडाअध्यक्ष गुरुङले जानकारी दिए । ‘बाढीले पुल बगाएपछि यहाँ विजुलीको तार टाँगेर खाद्यान्न ओसार पोसार गर्नुपर्ने अवस्था थियो । खाद्यन्न आपूर्ति र आवतजावतको समस्या चुलिएपछि सस्पेन्सन ब्रिज डिभिजनले तुइन राखिदिएको हो’, उनले भने ।
वडाअध्यक्ष सरोज गुरुङका अनुसार सस्पेन्सन ब्रिज डिभिजनले तुइनका निर्माणका लागि चाहिने आवश्यक सामाग्री ल्याएर एकदिनमै त्यहाँ तुइन तयार पारेको हो । तुइनमा एक पटकमा दुईजनासम्म बसेर आवतजावत गर्न मिल्ने उनले बताएका छन् । तुइन चलाउन भने स्थानीय युवाहरुलाई समस्या नरहेको गुरुङले सुनाए ।
‘यहाँ ३० वर्षअघि पनि तुइन नै हुन्थ्यो । त्यसैले तुइन यहाँको लागि नौलो कुरा होइन । झोलुङ्गे पुल बनेपछि भने पहिलाको तुलनामा यहाँको जीवनस्तर नै फेरिएको थियो’, उनले भने, ‘अहिले फेरि बाढीले पुल बगायो र त्यही तुइन आयो । हामी त ३० वर्ष अघिकै समयमा फर्किएजस्तै भएका छौँ ।’
धार्चे–२ केरौँजाका करिब ३५० र केरौँजावेशी तथा लामावेशी गाउँका १३७ घरधुरीका लागि दैनिक आवतजावतका सहारा तुइन बनेको वडाअध्यक्ष सरोज गुरुङले बताएका छन् । बाढीले पुल बगाएपछि आधाघण्टाको बाटो दिनभरि खर्चेर पार गर्नुपर्ने अवस्थामा तुइनले ठुलो राहत मिलेको केरौँजाका स्थानीय फिरिन्द्र घले बताउँछन् । उनी भन्छन्, ‘पुल हुँदा केरौँजावेशीबाट आधाघण्टामा माछाखोला आइन्थ्यो । पुल बगाएपछि ५–६ घण्टा हिँडेर खानीवेशी निस्किएर पारि तर्नुपथ्र्यो । अहिले तुइन हालेपछि एकैछिनमा वारपार गर्न सकिने भएको छ ।’ यद्यपि तुइनको यात्रा भने सजिलो नरहेको घलेले जानकारी दिए ।
‘तुइनमा एक्लै आउजाउ गर्न सम्भव हुँदैन । पारि मान्छे तान्न दुई तीनजना बलियो मान्छे बस्नुपर्छ । केही नहुनु भन्दा यो पनि ठिकै छ’, उनले भने । बाढी आएको झन्डै डेढ महिनापछि बूढीगण्डकी माथि तुइन बन्दा स्थानीय बासिन्दालाई आवतजावतमा केही सहजता मिलेको छ । यसअघि उनीहरु घण्टौँ हिँडेर खोला वारपार गर्ने गर्थे ।




