
दोस्रो पटक पनि बारपाकको हिमालय माविले जित्यो राष्ट्रपति रनिङ शिल्ड
बारपाक सुलिकोट गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि यसबर्ष पनि बारपाकको हिमालय माविले हाँसिल गरेको छ ।बारपाक सुलिकोट गाउँपालिकाको आयोजनामा सम्पन्न सातौँ रनिङ शिल्ड प्रतियोगिता बुधबार सम्पन्न भएको थियो ।
गाउँपालिका भित्रका १३ वटा विद्यालयहरूको सहभागिता रहेको सो प्रतियोगितामा ११ स्वर्ण, ३ रजत र ४ कांस्य पदक प्राप्त गरी लगातार दोस्रो पटक पनि प्रथम स्थान हाँसिल गरेको हो । त्यस्तै सूर्य ज्योति माविले ८ स्वर्ण, ६ रजत र ४ कांस्य पदक प्राप्त गरी द्वितीय स्थान र माझथर माविले ३ स्वर्ण, १० रजत र ४ कास्य पदक प्राप्त गरी तृतीय स्थान हासिल गरेका छन् ।
समापन तथा पुरस्कार वितरण समारोहमा गाउँपालिका अध्यक्ष विष्णु भट्ट, उपाध्यक्ष सुनमाया गुरुङ, प्रमुख प्रशासकीय अधिकृत सुवास आले, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रेम तामाङ, वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शिक्षा समिति सदस्यहरु, सबै विद्यालयका प्रधानाध्यापकहरु, अफिसियलहरु, सञ्चालक समितिका सदस्यहरु, सचिवालय सदस्य, शिक्षक नायक तथा विद्यार्थी स्वयंसेवकहरु सहभागी थिए ।




