
आत्मसम्मानमा ठेस पुर्याउने बैंकिङ व्यवहार अन्त्य गर
कुनै न कुनै शारीरिक वा मानसिक अवस्थाले आफ्ना अङ्गले पूर्ण रूपमा काम गर्न नसक्दा अपाङ्गता भएका व्यक्तिहरू आफैँमा पीडा र चुनौती खेपिरहेका हुन्छन् । तर, अधिकांश अपाङ्गता भएका नागरिकहरू अरू सरह सबल, सक्षम, आत्मनिर्भर र समाजमा सक्रिय रहन हरतरहले सङ्घर्ष र मिहिनेत गरिरहेका छन् ।
जीवनका हरेक पाइलामा उनीहरूलाई निराशा, हतोत्साह र हीनताबोध होइन, बरु हौसला, जोश, प्रोत्साहन र सकारात्मक अभिप्रेरणाको खाँचो पर्दछ । ‘म पनि अरू सरह केही गर्न सक्छुु’ भन्ने आत्मविश्वास र जाँगर भरिदिनु परिवार, समाज र राज्यको साझा दायित्व हो ।
यथार्थमा अपाङ्गता भएका व्यक्तिहरूलाई सहज सेवा, पहुँचयुक्त वातावरण र सम्मानजनक व्यवहारको आवश्यकता एकातिर छ, तर अर्कोतिर कतिपय बैंक तथा वित्तीय संस्थाहरूको व्यवहारले उनीहरूको स्वाभिमानमाथि गम्भीर चोट पु¥याउँदै आएको छ । अझै पनि कतिपय बैंकहरूले अपाङ्गता भएका व्यक्ति, विशेषतः दृष्टिविहीनहरूलाई सहजै खाता नखोलिदिने, अनेक बहाना बनाएर आलटाल गर्ने र खाता खोलिहाले पनि दस्तखत गर्न नदिई त्यसको साटो औँठाछाप लगाउन बाध्य पार्ने प्रवृत्ति देखिनु अत्यन्त दुःखद र आलोचनायोग्य कार्य हो ।
दस्तखत गर्नु केवल कानुनी वा प्राविधिक प्रक्रिया मात्र होइन, यो व्यक्तिको पहिचान, स्वायत्तता र आत्मसम्मानसँग जोडिएको विषय हो । दृष्टिविहीन वा अन्य अपाङ्गता भएका व्यक्तिले आफ्नै हस्ताक्षर गर्न सक्ने अवस्था हुँदाहुँदै वा त्यसका लागि आवश्यक सहज प्रविधि र प्रक्रिया उपलब्ध गराउन सकिने हुँदाहुँदै औँठाछाप नै लगाउन बाध्य पार्नुले उनीहरूलाई दोस्रो दर्जाको नागरिक ठानिएको भान हुन्छ । यस्ता व्यवहारले उनीहरूको मनोबल गिराउने मात्र होइन, वित्तीय समावेशीकरण र समानताको संवैधानिक तथा कानुनी मर्ममाथि नै प्रहार गर्दछ ।
अतः अपाङ्गता भएका व्यक्तिहरूलाई निराश बनाउने होइन, अघि बढ्ने ऊर्जा दिने वातावरण बनाउनु आजको आवश्यकता हो । बैंकहरूले दृष्टिविहीन लगायत सबै अपाङ्गता भएका नागरिकप्रति संवेदनशील बन्दै खाता खोल्ने र दस्तखत गर्ने अधिकारलाई सम्मानजनक रूपमा सुनिश्चित गर्नुपर्छ । कसैको पनि आत्मसम्मानमा ठेस लाग्ने कार्य अब कतैबाट पनि हुनु हुँदैन ।




