| बिहिबार, मंसिर ३, २०८३

तीन जिल्लामा काम गर्ने गरी गोरखामा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना

गण्डकी प्रदेशका तीनवटा जिल्लामा विकास निर्माणको काम गर्ने गरी नेपाल सरकारले गोरखामा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना गरेको छ । गोरखा, लमजुङ र मनाङ जिल्ला कार्यक्षेत्र रहने गरी पालुङटार नगरपालिका ५ ठाँटीपोखरी बजारमा बुधबारदेखि पूर्वाधार विकास डिभिजनको कार्यालय स्थापना गरी काम सुरु गरिएको कार्यालय प्रमुख इन्जिनियर रामशरण आचार्यले बताए ।

उनका अनुसार गोरखा, लमजुङ र मनाङमा वैकल्पिक राजमार्ग, रणनीतिक कृषि सडक, पर्यटकीय मार्ग, स्थानीय तहको केन्द्र जोड्ने सडक, स्थानीय सडक पुल तथा झोलुङ्गे पुलहरुको निर्माण तथा स्तरोन्नति गर्ने उद्देश्यसहित कार्यालय स्थापना भएको हो ।

‘कार्यालयले आफ्नो कार्यक्षेत्रमा पर्ने योजनाहरुको संभाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर), डिजाइन, लागत अनुमान, वातावरणीय अध्ययन तथा गुणस्तर परीक्षण जस्ता प्राविधिक कामहरु गर्छ’, उनले भने, ‘साथै, निर्माण कार्यको व्यवस्थापन, ठेक्का प्रकृया, भुक्तानी, सुपरिवेक्षण, विवाद समाधान, उचित जनशक्ति तथा वातावरणीय व्यवस्थापन, जस्ता व्यवस्थाकीय तथा कार्यान्वयन तहका कामहरु पनि कार्यालयबाटै हुन्छ ।’

यसअघि जिल्लाका पूर्वाधार विकासका कामहरु गण्डकी प्रदेश सरकार माताहतका पूर्वाधार विकास कार्यालय र गोरखा सडक योजना कार्यालयमार्फत हुँदै आएको थियो । गत असोज १३ गते बसेको मन्त्रीपरिषदको बैठकले पूर्वाधार विकास मन्त्रालय, स्थानीय पूर्वाधार विकास विभाग अन्तर्गत प्रत्येक प्रदेशमा ७ वटा पूर्वाधार सुपरिवेक्षण तथा अनुगमन कार्यालय तथा सो कार्यालय अन्तर्गत २१ वटा पूर्वाधार विकास डिभिजनहरु स्थापना गर्ने निर्णय गरेको थियो ।

मन्त्री परिषदको सोही निर्णय अनुसार गोरखाको पालुङटार नगरपालिकामा पूर्वाधार विकास डिभिजन, स्थापना भएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्