| बिहिबार, मंसिर ३, २०८३

जिउभरि चोट बोकेर आएका मृग नयाँ जीवन लिएर फर्किए

मंगलबार जिल्लाको सहिदलखन गाउँपालिका–८ मैलुङमा एउटा घाइते मृग फेला प¥यो । शरिरभरि धारिला हतियारका ठूलाठूला चोट बोकेका ती मृगलाई देख्नसाथ मैलुङबासीले प्रहरीलाई खबर गरे । प्रहरीले घाइते मृगको जिम्मा डिभिजन वन कार्यालय गोरखालाई दियो ।

‘शरिरभरि चोट लागेको एउटा मृग फेला परेको छ भनेर प्रहरीबाट खबर प्राप्त भयो । त्यसपछि हामी त्यहाँ पुगेर मृगलाई उद्धार गरेर ल्यायौँ’, डिभिजन वन कार्यालय गोरखाका निमित्त कार्यालय प्रमुख कृष्णप्रसाद भट्टले भने । मृगको अवस्था गम्भीर देखेपछि आफूहरुले उसलाई भेटेनरी अस्पताल ल्याएको उनले जानकारी दिए ।

भेटेनरी अस्पतालले करिब दुई वर्षका ती भाले मृगको शल्यक्रिया गरी उपचार गरेको छ । उपचार पश्चात मृगलाई नजिकैको जंगलमा छाडिएको डिभिजन वन कार्यालय गोरखाले जनाएको छ ।

घाइते मृगको शरीरका पाँच ठाउँमा धारिलो हतियारले प्रहार गरेको चोट भेटिएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डाक्टर प्रकाश अधिकारी बताउँछन् । ‘मृगलाई यहाँ ल्याइएपछि हामीले तुरुन्तै उसको शल्यक्रिया ग¥यौँ’, उनले भने, ‘उसको शरीरका पाँच ठाउँमा गहिरो चोटहरु थिए । त्यसलाई सिलायौँ । स्लाइन लगायौँ, थप औषधी उपचार गरेर वन डिभिजनलाई जिम्मा लगाई पठायौँ ।’

समयमै औषधी उपचार पाएकाले मृग नयाँ जीवन लिएर फर्किएको अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्