
शिविर सञ्चालन गरेर जिल्लाबासीको गुनासो सुन्दै सांसद बुर्लाकोटी
नागरिकको गुनासो सुन्न गोरखा क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य कबीन्द्र बुर्लाकोटीले ‘सांसद–नागरिक सुझाव तथा गुनासो व्यवस्थापन’ शिविर सञ्चालन गरेका छन् । रास्वपा संसदीय दलका प्रमुख सचेतकसमेत रहेका बुर्लाकोटीले गोरखा सदरमुकामको हरमटारी चोकमा जिल्लाबासीको गुनासो सुन्न एकदिने शिविरको आयोजना गरेका हुन् ।
जिल्लाबासीको गुनासो सुन्ने र सम्बोधनको प्रयास गर्ने उद्देश्यले हरमटारीको व्यस्त चोकमा बुधबार विहान ११ बजेदेखि पाँच बजेसम्म शिविरको आयोजना गरेको सांसद बुर्लाकोटीले जानकारी दिए । सरकारबाट भए, गरेका काम कारबाहीहरुप्रति स्थानीयस्तरको बुझाइ, सुझाव र गुनासोलाई शिविरमार्फत सम्बोधन गरिने शिविर पछि आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा सांसद बुर्लाकोटीले बताए ।
‘शिविरमा ४० जना सहभागीले फाराम भरेर लिखित गुनासो तथा जिज्ञासा राख्नु भयो’, सांसद बुर्लाकोटीले भने, ‘उहाँहरुले ५७ वटा समस्या तथा जिज्ञासा राख्नुभएको छ । हामीले मन्त्रालयमा पेश गर्नुपर्ने वा जिल्लाका कार्यालय प्रमुखलाई भन्नुपर्ने वुँदागत रुपमा छानविन गरी तत्तत् ठाउँमा पेश गर्नेछौँ ।’
शिविरमा आउनेहरुलाई फाराम दिइएको थियो । ‘त्यस फाराममा उहाँहरुले सरकारको कामप्रति गुनासो, सरकारी काममा केही ढिलासुस्ती, रकम लेनदेन भएका छन्, छैनन् आदि कुराहरु भर्नुहुन्छ’, बुर्लाकोटीले भने, ‘नयाँ सरकारप्रति स्थानीयस्तरको बुझाइ र अपेक्षाहरु के कस्ता छन् भन्ने थाहा पाउनलाई पनि यो शिविर आयोजना गरेका हौँ ।’ यो नयाँ प्रयोग भएकाले यसको महत्व र औचित्यतालाई दृष्टिगत गरी निरन्तरता दिइने उनले बताए । साथै कुनै रचनात्मक सुझाव भएमा पनि संकलन गरिने उनले बताए ।
सांसद बुर्लाकोटीको सचिवालयले जिल्लामा विशेषगरी विकास निर्माणका आयोजनाहरुमा देखिएका समस्याहरुलाई सम्बोधन गर्ने बताएको छ । नागरिकहरुको समस्या समाधान गर्न स्थानीय, प्रदेश र संघीय तीनै तहका सरकारहरुसँग समन्वय गर्ने उल्लेख छ । ‘शिविरमार्फत आएका नागरिकको गुनासो तथा सुझावहरुलाई क्षेत्रगत रुपमा विभाजन गरेर सम्बोधन गर्न पहल गर्नेछौँ’, बुर्लाकोटीको सचिवालयका सुजन गर्तौलाले भने ।
सदरमुकामबाट सुरु गरिएको गुनासो तथा सुझाव संकलन गर्ने शिविर जिल्लाका अन्य स्थानीयतहहरुमा पनि सञ्चालन गरिने सांसद कबीन्द्र बुर्लाकोटीले बताए । बिहिबार सिरानचोक र शुक्रबार अजिरकोटमा पनि जनगुनासो सुन्ने र सम्बोधनको प्रयास गर्ने कार्यक्रम आयोजना गरिने उनले बताए ।




