
अजिरकोटमा मातृ तथा बाल स्वास्थ्य पुस्तिका कार्यक्रम सुरु
गोरखाको अजिरकोट गाउँपालिकामा मातृ तथा बाल स्वास्थ्य पुस्तिका कार्यक्रम सुरु भएको छ । गाउँपालिका र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहकार्यमा तथा बाल स्वास्थ्य सेवा सुधार गर्ने उद्देश्यल कार्यक्रम सुरु गरिएको हो।
कार्यक्रमले गर्भवती महिला, सुत्केरी आमा तथा नवजात शिशुको स्वास्थ्य अवस्थाको नियमित अभिलेखीकरण, अनुगमन र स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्ने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष दिपक देवकोटाले जानकारी दिए । यसबाट गर्भावस्थादेखि सुत्केरी अवस्था र शिशुको प्रारम्भिक स्वास्थ्य अवस्थासम्म आवश्यक विवरण व्यवस्थित रूपमा राख्न सहयोग पुग्ने उनले बताएका छन् ।
मातृ तथा बाल स्वास्थ्य सेवालाई थप व्यवस्थित, प्रभावकारी र गुणस्तरीय बनाउँदै सुरक्षित मातृत्व तथा स्वस्थ बाल्यकाल सुनिश्चित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ। कार्यक्रमको सफल कार्यान्वयनका लागि गाउँपालिकाले जाइकालगायत स्वास्थ्यकर्मी तथा सम्बन्धित सरोकारवालासँग सहकार्य गर्ने जनाएको छ। कार्यक्रमले स्थानीय स्तरमा मातृ तथा शिशु स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।




