
दशैं भव्य र सभ्य बनोस्, शुभकामना
नेपालीहरूको घरदैलोमा महान् चाड दशैँ भित्रिसकेको छ । वर्षभरिका दुःख, पीडा, अभाव र दौडधुपलाई बिर्सेर उत्सवको माहौलमा रमाउने समय आएको छ । देशविदेशमा रहेका आफन्त, अध्ययन वा रोजगारीका लागि सहर बजार पसेका युवायुवतीहरू आफ्नो थातथलो र गाउँघर फर्किएका छन् । देशमा हिमपहिरो, बाढीले विभिन्न दुर्घटना घटाइरहेका छन् । यसले नेपालीहरुलाई शोक वा पीडा भए तापनि नेपाली समाजले चाडपर्वलाई सधैँ आशा, हर्ष र पुनर्मिलनको प्रतीकका रूपमा मनाउँदै आएको छ।
मिठा परिकार खाने, नयाँ वस्त्र तथा अलङ्कार पहिरिने, आफन्त तथा इष्टमित्रसँग भेटघाट गर्ने, अनि नाचगान र रङ्गरौसमा रमाउने परम्परा दशैँको मौलिक सौन्दर्य हो । अग्रजहरूबाट आशीर्वाद लिँदै भ्रातृत्व र सामाजिक सद्भाव अभिवृद्धि गर्ने यो उत्तम अवसर पनि हो । तर, उत्सवको यो उमङ्गमा अलिकति मात्र असावधानी वा अनियन्त्रित व्यवहार भयो भने चाडपर्वको रौनकता क्षणभरमै दुःख र तनावमा परिणत हुन सक्छ । त्यसैले, यो समयमा हर्षसँगै गम्भीर सतर्कता र अनुशासन अपनाउनु अपरिहार्य देखिएको छ ।
सबैभन्दा पहिलो ध्यान खानपान र स्वास्थ्यमा पु¥याउनु पर्छ । चाडपर्वका नाममा अत्यधिक बोसोयुक्त, पिरो, चिल्लो र बासी खानेकुरा खाँदा विभिन्न स्वास्थ्य समस्याहरू उत्पन्न हुने गर्दछन् । शारीरिक सन्तुलन बिग्रिएर अस्पताल पुग्नुपर्ने अवस्था आउन नदिन खानपानमा कडा अनुशासन र संयमता आवश्यक छ ।
दोस्रो महत्त्वपूर्ण पक्ष आर्थिक अनुशासन र मितव्ययिता हो । चाडपर्व मनाउने नाममा आफ्नो क्षमताभन्दा बाहिर गएर फजुल खर्च गर्ने, ऋण खोजेर देखावटी तडकभडक गर्ने प्रवृत्र् पछिल्लो समय बढ्दो छ । चाडपर्व भनेको भावना र मौलिकता जोगाउने पर्व हो, न कि आर्थिक बोझ बढाउने माध्यम । त्यसैले आफ्नो गच्छेअनुसार मितव्ययी बनेर चाडपर्व मनाउनु नै बुद्धिमानी हुन्छ ।
त्यसैगरी, चाडपर्वका बेला मादक पदार्थको अत्यधिक सेवन र तासजुवाजस्ता अनियन्त्रित गतिविधिहरू अर्को गम्भीर चुनौती हुन् । मादक पदार्थको नशामा गरिने होहल्ला, हुलहुज्जत, झैझगडा र तीव्र गतिमा सवारी चलाउने लापरबाहीले गर्दा हरेक वर्ष धेरै परिवारले अकल्पनीय क्षति भोग्नुपरेको छ । चाडपर्वलाई सभ्य र सुरक्षित बनाउन मदिराजन्य पदार्थको प्रयोगमा पूर्ण संयम अपनाउनु र जुवातासजस्ता सामाजिक विकृतिबाट टाढै रहनुपर्छ ।
खानपानमा सतर्कता, खर्चमा मितव्ययिता, व्यवहारमा नम्रता र यात्रामा सुरक्षा अपनाउँदै यो दशैँलाई साँच्चै नै सुखद, भव्य र स्मरणीय बनाऔँ । समस्त नेपालीहरूमा विजयादशमी तथा शुभ दीपावलीको हार्दिक मङ्गलमय शुभकामना ।




