
धार्चेका अध्यक्ष गुरुङ : जो बूढीगण्डकी बाढीले अवरुद्ध पदमार्ग खुलाउन निरन्तर खटिरहेछन्
बूढीगण्डकी बाढीले अवरुद्ध उत्तरी गोरखाको बाटो खुलाउन धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङ निरन्तर खटिरहेका छन् । उनी नेतृत्वको टिम विगत तीन दिनदेखि खोर्लावेशी–तातोपानी खण्डमा बाटो निर्माण गर्न तल्लिन छन् । आइतवारको बाढीले पैदलसमेत हिड्न नमिल्ने गरी खोर्लावेशीको सडक बगाएपछि आउजाउ ठप्प थियो । बाढीसँगैको लेदोले ठाउँठाउँको सडक अवरुद्ध थिए । स्थानीय स्रोतसाधनको प्रयोगले बाटो बनाएर आउजाउ गर्ने व्यवस्था मिलाइएको गुरुङले बताए ।
‘खोर्लावेशीदेखि तातोपानीखण्डमा लेदोले पुरिएको सडकमा आउजाउका लागि ढुंगा र काठ बिछ्याएका छौ,’ उनले भने, ‘सडक नै बगाएको खोर्लावेशीमा भने माथिबाट बैकल्पिक बाटो निर्माण गरेका छौ ।’ खोर्लावेशीदेखि लुस्याङसम्म करिव पाँच सय मिटर बैकल्पिक बाटो निर्माण गरिएको उनले जानकारी दिए ।
उनका अनुसार भीरमा घारी पन्छाउँदै कोदालो र साभेलले हिड्न मिल्ने बाटो बनाइएको छ । सहाराका लागि ठाउँठाउँमा डोरी राखिएका छन् । पहरा भएको ठाउँमा काठको भ¥याङ बनाइएको छ । खोर्लावेशी–तातोपानी खण्डमा अलपत्र परेका पैदलयात्रीहरु अहिले सोही बाटोबाट आउजाउ गर्न थालेका छन् ।
‘हिजो एक सय जनालाई यो बाटोबाट पार गरायौ,’ उनले भने, ‘आज दुई सय जना जति आउजाउ गरिसके ।’ काशिगाउँ, केरौजा जाने बाटो पनि सुचारु गरिएको उनले बताए । अव उत्तरी गोरखा जाने पैदलयात्री समेत बाटोका कारण रोकिनु नपर्ने उनले जानकारी दिए । ‘केरौजावेशी जानका लागि काशिगाउँ जाने पुल क्रस गरेर बुढीगण्डकी पारी तिरतिरै जाने बाटो बनाएका छौ । खोर्लावेशी उता बुढीगण्डकी नदीलाई फर्काउन दुई वटा मेसिन लगाएका छौ, त्यो भयो भने आउजाउ गर्न अलि सहज हुन्छ,’ उनले भने ।
यो बैकल्पिकबाटो दिर्घकालिन नहुने भन्दै क्षति पुगेको सडक मर्मतमा ध्यान दिन उनले सम्बन्धित निकायलाई आग्रह गरेका छन् । सडक बगाएको ठाउँमा ब्लाष्ट गरेर नयाँ ट्रयाक खोल्नुपर्ने भएकाले पालिकाबाट उक्त काम सम्भव नहुने उनले बताए । ‘ब्लाष्ट गरेर नयाँ ट्रयाक खोल्न हामीसँग स्रोत साधन हुदैन, त्यसका लागि सम्बन्धित निकायलाई आग्रह गरेका छौ,’ उनले भने ।
गोरखा सडक योजनाको तथ्याङ्क अनुसार बाढीले बेनिघाट आरुघाट लार्के सडकको बिभिन्न ठाउँमा क्षति पु¥याएको छ । खोर्लावेशीदेखि तातोपानी खण्डमा पैदल समेत हिड्न नमिल्ने गरी सडक बगाएको कार्यालय प्रमुख बिनोद पुनले बताए । ‘खोर्लावेशीकै दुई ठाउँमा मान्छे पनि हिड्न नमिल्ने गरी सडक कटान भएको छ,’ उनले भने, ‘दुवै ठाउँमा करिव डेढ/डेढ सय मिटर सडक बगेको देखिन्छ ।’
सो खण्डमा ब्लाष्टिङ गरेर नयाँ ट्रयाक खोल्नुको बिकल्प नरहेको उनले बताए । सडक बिभाग, गोरखा सडक योजना र नेपाली सेनाको प्राविधिक टिमले वुधवार आरुघाटदेखि पाङसिङसम्मको सडकको निरीक्षण गरेको थियो । तातोपानी, यारुवगर, जगत लगायतका स्थानमा लेदोले सडक पुरिएको टोलिले जनाएको छ । ‘कालिभिरमा पनि पहिरो आएर सडक बगाएको छ,’ टोलिमा सहभागीमध्येका एक पुनले भने, ‘कुल १.२ किमि सडकमा क्षति पुगेको देखियो ।’ खोर्लावेशीमा नयाँ ट्रयाक खोल्ने र बाँकी भागमा लेदो हटाएपछि सडक संचालनमा आउने उनको भनाइ छ ।




