
हिमालको काखमा डेढ करोडको वृद्धाश्रम
दरौंदी समाचारदाता ः हिमाली गाउँ प्रोकमा डेढ करोड रुपियाँ खर्च गरेर वृद्धाश्रम निर्माण भएको छ । चुमनुब्री गाउँपालिका ४ होग्गोममा नवनिर्मित उर्गेन डोदुल्लिङ वृद्धाश्रमको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई र खेम्पो लामागुरु तेन्जिन नुर्बुले कातिक १५ गते संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
हालै निर्माण सम्पन्न भएको वृद्धाश्रममा साविक सामागाउँ, ल्हो र प्रोक गाविसका १४ जना वृद्धवृद्धाहरुको बसोबास रहेको छ । पाँच रोपनी जग्गामा फैलिएको वृद्धाश्रममा आठवटा आश्रम भवन रहेको छ । आश्रममा २८ जना वृद्धवृद्धा अट्न सक्ने क्षमता रहेको वडा अध्यक्ष पेमाडुण्डुप लामाले बताए ।
वृद्धाश्रम निर्माणका लागि स्थानीय छाक गाउँका नौ जनाले जग्गादान गरेका लामाले बताए ।
आश्रममा निशुल्क खानेबस्ने, लगाउने र नियमित उपचार सेवाको पनि ब्यबस्था रहेको छ । साथै मृत्यूपछि दाहसंस्कारको पनि आश्रमभित्रै व्यबस्था रहेको आश्रम निर्माण तथा सञ्चालक समितिका अध्यक्ष लाक्पाडुण्डुप लामाले बताए । ‘यहाँ रहेका वृद्धवृद्धालाई निशुल्क खाना, बस्न र हरेक हप्ता स्वास्थ्य परीक्षण हुनेछ’, उनले भने, ‘मरेपछि आफन्तको रोहोबरमा दाहसंस्कार पनि यही गर्ने व्यबस्था छ ।’
एकाघरका परिबारको निवेदन र वडा कार्यालयको सिफारिसको आधारमा वृद्धाश्रममा बस्न पाउने व्यबस्था छ ।
वृद्धाश्रममा दाहसंस्कार स्थल, गुम्बा, माने, ध्यान गर्ने कोठा बनाउनले लक्ष्य रहेको वडा अध्यक्ष पेमाको भनाइ छ । फर्पिङको आजोम गुम्बाको सहयोगमा निर्माण भएको वृद्धाश्रममा खानेपानी, सौचालय र पदमार्ग भने वडा कार्यालयको सहयोगमा निर्माण गरिएको वडा अध्यक्ष लामाले बताए ।
वुद्ध धर्म संस्कृतिका गुरु पद्म सम्भव तथा उर्गेन महागुरुको तपोभूमिको रुपमा प्रसिद्ध बेयोल किमोलुङ क्षेत्रमा पर्ने होग्गोमलाई वुद्धधर्मावलम्बीहरु पवित्र तीर्थ स्थलको रुपमा लिने गर्छन् । ज्येष्ठ नागरिकले वृद्ध अबस्थामा दुख कष्ट भोग्न नपरोस भन्ने उद्देश्यले धार्मिक स्थलमा वृद्धाश्रम निर्माण गरिएको समितिका अध्यक्ष लाक्पा डुण्डुप लामाले बताए ।




