
सुरक्षा चुनौतिको वहाना बनाउँदै गोरखा प्रशासनद्धारा लिगलिगे दौड रोक्न आग्रह
सुरक्षा चुनौतीको वहाना बनाउँदै जिल्ला प्रशासन कार्यालयले ऐतिहासिक लिगलिगे दौडमा रोक लगाएको छ । पालुङटार नगरपालिकाको आयोजनामा भोलि हुन लागेको दौड नगर्न प्रशासनले आग्रह गरेको छ ।
वुधवार साँझ पत्राचार गर्दै प्रशासनले विवादका कारण कार्यक्रममा सुरक्षा निकायहरु सहभागी गराउन नसक्ने र पर्याप्त सुरक्षा समेत दिन नसक्ने जनाएको छ । यसअघि लिगलिगकोट बिकास अभियानले आयोजना गर्दै आएको दौड नगरपालिकाले अपनत्व लिएर संचालन गर्न खोजेपछि दुई पक्षबीचको विवाद चुलिएको हो ।
आफू आयोजक हुनुपर्ने दुवैको अडान छ । यसअघि पनि नगरपालिका आफैले अपनत्व लिएर दौड संचालन गर्ने निर्णय गरेको थियो । तर लिगलिगकोट बिकास अभियानले अवरोध गरेपछि विगत दुई बर्षदेखि दौड हुन सकेको छैन । यो बर्ष पनि पालिकाले दौड गर्न लागेपछि अभियानले अवरोध सृजना गरेको हो ।
नगरपालिकालाई चुनौती दिदै अभियानले असोज ३० गते लिगलिगे दौडको आयोजना गरेको छ । नगरपालिकाले भने असोज २९ गते दौड राखेको छ । दुइ पक्षबीचको छलफलमा सहमति नभएपछि सुरक्षाको वहाना बनाउँदै प्रशासनले दुवैलाई दौड नगर्न भनेको हो । प्रतियोगिता रोक्न आग्रह गर्दै वुधवार प्रशासनले दुवै पक्षलाई पत्राचार गरेको हो ।




