
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो
बेनिघाट–आरुघाट–लार्के सडकखण्ड अन्तरगत पर्ने खोर्लावेशी र तातोपानीबीचको सडक सम्पर्क पनि टुटेको छ । आइतवारको बूढीगण्डकी बाढीले डम्पिङ साइट क्षेत्रको सडक बगाएको हो ।
करिव एक सय मिटर सडक बाढीले कटान गरेको गोरखा सडक योजनाले जनाएको छ । ‘त्यहाँ नयाँ ट्रयाक खोल्नुको बिकल्प छैन,’ कार्यालय प्रमुख विनोद पुनले भने, ‘ब्लाष्ट गरेर ट्रयाक खोल्नका लागि प्रशासनसँग समन्वय गरिरहेका छौ ।’
बाढीले अवरुद्ध आरुघाट–माछीखोला सडक भने खुलाइसकिएको उनले बताए । छेपारेभीर र सोती क्षेत्रको लेदो हटाएर सोमवारबाटै सडक संचालनमा ल्याइएको उनले जानकारी दिए । ‘दुवै क्षेत्रमा मेसिनले लेदो हटाएर हिजैबाट सडक सुचारु गरेका हौ,’ उनले भने, ‘अव गाडी माछिखोलासम्म पुग्छ ।’




