
मंसिर १४ गतेदेखि पाँचौँ गोरखकाली पर्यटन मेला हुने
गोरखा सदरमुकाममा पाँचौँ गोरखकाली पर्यटन मेला हुने भएको छ । शनिबार पत्रकार सम्मेलन गरी हरमटारी क्लवको आयोजनामा आगमी मंसिर १४ गतेदेखि २७ गतेसम्म मेला हुन लागेको जानकारी गराएको हो । ‘गोरखाको संस्कार सँस्कृतिको संरक्षण र प्रबद्र्धन आर्थिक, पर्यटन र ऐतिहासिक गोरखाको अभियान’ भन्ने नाराका साथ पाँचौँ गोरखकाली पर्यटन मेला आयोजना गर्ने आयोजकले जनाएको छ ।
दुई सातासम्म चल्ने मेलाले गोरखाको पर्यटन, कला, संस्कृति, स्थानीय उत्पादन तथा आर्थिक गतिविधिको प्रवद्र्धनमा महत्त्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको क्लबका अध्यक्ष अनिल श्रेष्ठले जानकारी दिए । मेलामा करिब १५० वटा स्टल निर्माण गरिनेछन् । जसमा स्थानीय उत्पादन तथा व्यापारिक सामग्रीको प्रदर्शनी र बिक्री, खानाका परिकारसहितका फुड स्टल, बाल उद्यान, पर्यटन प्रवद्र्धनसम्बन्धी स्टल तथा मनोरञ्जनका विभिन्न सामग्रीहरू राखिने हरमटारी क्लबले जनाएको छ ।
त्यसैगरी, मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति, स्थानीय कला–संस्कृति झल्काउने झाँकी तथा ¥यालीलगायतका कार्यक्रमसमेत आयोजना गरिने उनले बताए । ‘मेलाले गोरखाको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पहिचानलाई राष्ट्रियस्तरमा चिनाउन सहयोग पु¥याउछ भन्ने विश्वस लिएका छौं,’ अध्यक्ष श्रेष्ठले भने, ‘मेलामा स्थानीय उद्यमी, व्यवसायी तथा उत्पादनकर्तालाई आफ्नो उत्पादनको प्रचारप्रसार र बिक्री गर्ने अवसर प्रदान गर्नुका साथै स्थानीय व्यापारलाई चलायमान बनाउने हाम्रो उद्देश्य हो ।’
मेलामार्फत गोरखामा पर्यटकको आकर्षण बढाउने, स्थानीय व्यवसायलाई प्रोत्साहन गर्ने तथा पर्यटनसँग सम्बन्धित आर्थिक सम्भावनाहरू उजागर गर्ने लक्ष्य राखिएको उनले बताए । करिब एक लाख दर्शकले अवलोकन गर्ने मेला सम्पन्न गर्न करिब ५८ लाख ४५ हजार लाग्ने आयोजकले अनुमान गरिएको छ । मेलाबाट ५ लाख ५ हजार बचत गरि ११ औं गोरखकाली रनिङ कप फुटबल प्रतियोगिता गर्नुका साथै हरमटारी स्थित रंगशाला खेलकुद मैदानको मर्मत गर्ने र खेलकुदको विकासको लागि प्रयोग गरिने क्लबका महासचिब मनोज गुरुङले बताए ।
सो मेलामा प्रवेश शुल्कको रुपमा बृद्ध अशाय असक्त तथा विद्यार्थीका लागि रु ५० र अरु दर्शकका लागि रु १०० तोकिएको छ । मेला अवधिमा हुने लाइभ कन्सर्ट, ठुला ब्यान्डको प्रस्तुती रहेको दिनमा भने प्रवेश शुल्क रु २०० हुने महासचिव गुरुङले बताए । हरमटारी क्लबले स्थानीयवासी, उद्योगी, व्यवसायी, पर्यटन व्यवसायी, सञ्चारकर्मी तथा सम्पूर्ण सरोकारवालालाई मेलाको सफल आयोजनामा सहयोग गर्न आग्रह समेत गरेको छ।




