
दशैँ, तिहार नजिकिएसंगै खाद्यान्न आपूर्ति व्यवस्थित गर्दै स्थानीय प्रशासन
दशैं, तिहारजस्ता ठूला चाडबाड नजिकिएसंगै स्थानीय प्रशासनले जिल्लाको खाद्यान्न आपूर्ति व्यवस्थित संवेदनशील बनेको छ । ग्रामीण सडक खुलाएर गाउँबस्तीमा खाद्यान्न, लत्ता कपडा लगायतका सामग्री सहज रुपमा पुग्ने वातावरण बनाउन आफूहरु संवेदनशील भएर लागिपरेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले जानकारी दिए ।
‘अहिले दशैं, तिहारजस्ता ठूला चाड नजिकै आइसकेको छ । यो अवस्थामा चामल, चिनी, तेल जस्ता खाद्य सामग्रीको आपूर्ति सहज बनाउन हामी तदारुकताका साथ लागिरहेका छौँ’, प्रजिअ मिश्रले भने, ‘अहिले कुनै बस्तुको अभाव भएको भन्ने जानकारीमा आएको छैन । बरु कालोबजार भएको सूचना पाएमा हामी कडाभन्दा कडा कारबाहीका लागि चनाखो छौँ ।’
ग्रामीण सडक पनि प्राय खुल्ला रहेको उनको भनाइ छ । ‘जिल्ला भित्रका मुख्य–मुख्य सडकहरु खुल्ला नै छन् । कहीँ कतै खुलाउन बाँकी भए नभएको हामीले सडक कार्यालयसंग समन्वय गरिरहेका छौँ’, प्रजिअ मिश्रले भने, ‘त्यस्तै खाद्यान्न लगायतका सामग्री आपूर्तिका लागि कहीँकतै कुनै बाधा, व्यवधान भए खबर गर्न समन्वय गरिरहेका छौँ ।’ तर सबै सहज रहेको जानकारी पाएको उनको भनाइ छ ।
खाद्यान्न आपूर्तिसम्बन्धी सरोकारवालाहरुको बैठक पनि बरोबर बस्ने गरेको उनको भनाइ छ । ‘सुरक्षा समिति, खाद्य व्यवस्थासम्बन्धी सरोकारवालाहरुको बैठक यसअघि पनि बसिरहेको नै छ । फेरि पनि बस्नेवाला छ’, प्रजिअ मिश्रले भने, ‘सडकको अवस्थाको बारेमा बुझ्न फिल्ड भिजिट पनि गरेका छौँ । रिभिजिट पनि गर्नेछौँ ।’
खाद्यान्न आपूर्ति तथा विक्री वितरण सहज रुपमा नै भइरहेको गोरखा उद्योग वाणिज्य संघले जनाएको छ । ‘हामीले माताहतका व्यापारी, व्यवसायीलाई चाडबाडका बेला कुनै पनि प्रकारका खाद्यान्नको अभाव हुन नदिन सजग गराइरहेका छौँ’, संघका अध्यक्ष भगवानबाबु मास्केले भने, ‘यदि कुनै कमी, कमजोरी भएमा संघले कुनै बचाउ नगर्ने, सजायँको भागिदार आफै हुनुपर्ने भन्दै सतर्क गराएका छौँ ।’
साथै गुणस्तर तथा मूल्य तुलना गरेर मात्र खरिद, विक्री गर्न, म्याद गुज्रिएका सामानलाई व्यवस्थित ढंगले भण्डारण गरी नष्ट वा फिर्ता गर्न संघले अपिल गरेको मास्केले बताए । त्यस्तै समय समयमा बजारको माग तथा ग्राहकको आवश्यकताको अध्ययन, विश्लेषण गर्न पनि संघले सार्वजनिक सूचना जारी गरी अपिल गरेको मास्केले बताए ।
त्यस्तै व्यवसायलाई सम्बन्धित निकायमा दर्ता गर्न, नियमित नविकरण गर्न, कर, बिल, बिजक चुस्त दुरुस्त राख्न, कर्मचारी व्यवस्थापन तथा सामाजिक सुरक्षाको व्यवस्था गर्न, वैंकिङ कारोबारलाई प्राथमिकता दिन, पसलमा अनिवार्य रुपमा मूल्यसूची राख्न पनि अपिल गरिएको उनको भनाइ छ ।




