
मनकामना केवलकार सेवा एकदिनका लागि बन्द
जोखिमपूर्ण यात्रा नगर्न अनुरोध गर्दै मनकामना दर्शन प्रालिले आइतबार एकदिनका लागि केवलकार सेवा स्थगित गरेको छ । अविरल बर्षा, बाढी र पहिरोका कारण यात्रुहरु आवतजावत नगरुन् भन्ने उद्देश्यले एकदिनका लागि केवलकार सेवा बन्द गरिएको प्रालिका कर्मचारी राजेन्द्र लामाले जानकारी दिए । प्रतिकूल मौसम र बाढी पहिरोले पृथ्वीराजमार्ग पनि बन्द रहेको र यात्रुहरु जोखिम मोलेर आवतजावत नगरेका कारण केवलकार पनि बन्द गरिएको लामाले बताए ।
‘अहिले राजमार्ग पनि बन्द रहेको छ । यात्रु खासै हुनुहुन्न । अनि सरकारले जोखिम मोलेर यात्रा नगर्न भनिरहेकाले हामीले पनि आज एकदिनका लागि केवलकार बन्द गरेका हौँ’, उनले भने, ‘केवलकार आउने कर्मचारीहरुको सुरक्षालाई पनि मध्यनजर गरेर उहाँहरुलाई पनि नआउन भनिएको छ । मौसम खुलेर सुरक्षित वातावरण बनेपछि यात्रुहरु पनि आवतजावत गर्न थाल्नुहुन्छ अनि केवलकार पनि खुल्छ ।’ सोमबारदेखि नै केवलकार सुचारु हुने उनको भनाइ छ ।




