| शनिबार, अशोज ९, २०८३

निरन्तरको वर्षाले गोरखाको विभिन्न ठाउँमा बाढी, पहिरो

बिहिबारदेखि परेको निरन्तर वर्षाका कारण जिल्लाको विभिन्न ठाउँमा बाढी, पहिरो लगायत मनसुनजन्य क्षति भएको छ । वर्षाले गोरखा नगरपालिका–२ कोखेआहाले स्थित मदरसामा क्षति पुगेको छ । मुस्लिम समुदायको महिलाहरु पढ्ने दुईतले मदरसा पहिरोको जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

जिल्लाको सहिदलखन गाउँपालिकामा वडा नं ४ राइनासस्थित त्रिशुली नदीमा आएको बाढीले नदी किनार माथि पहिरो खसेको प्रहरीको भनाइ छ । पहिरोले स्थानीय मनमाया रानाको पक्की घर उच्च जोखिममा परेको उल्लेख छ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा बाढीले काठे पुल बगाएको छ ।

गाउँपालिकाको वडा नं ४ नाम्रुङ र २ भर्जम जोड्ने काठेपुल बगाएको प्रहरी कार्यालयले जानकारी दिएको छ । पुल बगाएसँगै आवतजावतमा समस्या भएको छ । यस्तै, चुमनुब्रीको वडा नं ३ पैयुँमा सडकमाथिबाट पहिरो खस्दा सडक अबरुद्ध बनेको छ । जगतबाट सिर्दिबास जाने उक्त कच्ची सडकखण्डमा पहिरो खस्दा आवतजावत प्रभावित बनेको उल्लेख छ ।

पहिरोले आरुघाट गाउँपालिका १ मान्वुबाट काशीगाउँ जाने कच्ची सडक भासिएको छ । सडकखण्ड एकमिटर भासिँदा स्थानीय विरबहादुर गुरुङको पक्कीघर जोखिममा परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्