| आइतवार, कार्तिक २९, २०८३

प्रहरी ऐन ल्याउँदै गण्डकी प्रदेश

दरौंदी समाचारदाता : गण्डकी प्रदेश सरकारले पनि प्रदेश प्रहरी ऐन ल्याउन सहमति दिएको छ। संघलाई ओभरटेक नगरि वेटिङ गर्ने धारणा बनाएको प्रदेश सरकार आफै ऐन ल्याउन कस्सिएको हो। प्रदेश प्रहरी ऐन ल्याउन लागेको दोश्रो प्रदेश पनि गण्डकी हो। यसअघि नै प्रदेश नं. २ ले प्रहरी ऐन पारित गरेपछि संघ सरकार र प्रदेश सरकारबीचको अधिकारको विषयमा तरंग ल्याएको थियो। प्रदेशले ल्याउन लागेको प्रहरी ऐनलाई प्रदेशका कानुनमन्त्री हरिबहादुर चुमानले संघ सरकारलाई दबाबको संज्ञा दिए। ‘हामीले कहिलेसम्म कुर्ने, कुर्नुको पनि हद हुन्छ, हात बाँधेर बस्नुपरेको छ’ उनले भने, ‘प्रदेश २ ले ऐन पारित नै गरिसक्यो, यसले दबाब त सिर्जना भएको छ नै, हामीले पनि दबाबस्वरुप ऐनको तयारी गरेका हौँ।’चुमानका अनुसार प्रदेश प्रहरी ऐनको ड्राफ्ट तयार भईसकेको छ र अब एक चरण विषय विज्ञहरुसँग छलफल गरेर यसलाई पूर्णता दिईनेछ। तर, संघले संघीय प्रहरी ऐन नबनाएको खण्डमा भने प्रदेशले थप दबाद दिन सक्ने उनले संकेत गरे। ‘हामीले केन्द्रसँग ऐन बनाउन माग गरेकै छौँ, संघ सरकारले अध्यादेशबाट भएपनि ऐन ल्याउने भनेको छ, ल्याएछ भने ठिकै भयो, त्यसमै आधारित रहेर बनाऔँला, नल्याएको खण्डमा भने हामीले सदनमा पेश गर्नेछौँ’ उनले भने।

प्रतिक्रिया दिनुहोस्