
रोयल्टीसँगै हिमाल संरक्षणमा पनि जोड दिऔँ
यो शरद ऋतुको पर्यटन सिजनमा ८,१६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणका लागि पर्वतारोहीहरूको उत्साहजनक उपस्थिति देखिएको छ । हरेक वर्ष अन्य हिमशिखरको तुलनामा मनास्लु आरोहणका लागि पर्यटकहरूको चाप अत्याधिक हुने गरेको छ ।
यस वर्ष पनि ४५० भन्दा बढी आरोहीहरूले मनास्लु आरोहणको अनुमति लिइसकेका छन्, जसबाट मात्रै राष्ट्रिय ढुकुटीमा २० करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन हुने निश्चित छ । आर्थिक र पर्यटकीय दृष्टिकोणले यो खुसीको विषय भए तापनि, यसको अर्को कहालीलाग्दो पाटोलाई ओझेलमा पार्न मिल्दैन ।
राजस्वका हिसाबले मनास्लुले मुलुकलाई दरिलो योगदान पु¥याए पनि यसको उचित संरक्षण र व्यवस्थापनको भने घोर अभाव देखिएको छ । अत्यधिक आरोही र उनीहरूका सहयोगीहरूको चापका कारण हिमाली क्षेत्रमा फोहोरमैला वृद्धि, वातावरणीय असन्तुलन र जैविक विविधतामाथि गम्भीर असर परिरहेको छ।
त्यसमाथि जलवायु परिवर्तनको तीव्र प्रभावका कारण मनास्लु क्षेत्रमा लगातार हिमपहिरो जानु र हिमताल विस्फोटको जोखिम बढ्नुले समग्र हिमाली पारिस्थितिक प्रणाली नै सङ्कटमा परेको सङ्केत गर्छ। हिमालबाट मनग्गे आम्दानी लिने तर त्यसको संरक्षण र सुरक्षामा भने उदासीन रहने परिपाटी अब लामो समय चल्न सक्दैन ।
नेपालका हिमालहरू केवल पर्यटकीय गन्तव्य र राजस्वका स्रोत मात्र होइनन्, यी त सम्पूर्ण मानव जाति र जैविक प्रणालीका अमूल्य प्राकृतिक धरोहर हुन्। त्यसैले, केवल रोयल्टी सङ्कलनमा रमाउनुको साटो हिमालको अस्तित्व जोगाउने एकीकृत र दीर्घकालीन योजना बनाउनु गचनभलत भइसकेको छ ।
आरोहणबाट प्राप्त हुने राजस्वको निश्चित हिस्सा अनिवार्य रूपमा मनास्लु क्षेत्रको जैविक संरक्षण, फोहोर व्यवस्थापन, र जोखिम न्यूनीकरणमा लगानी गरिनुपर्छ । नेपालले विश्वमञ्चमा जलवायु परिवर्तनबाट हिमाली क्षेत्रमा परेको असरबारे खरो रूपमा आवाज उठाउँदै हिमाल जोगाउने अन्तर्राष्ट्रिय अभियानको नेतृत्व लिनैपर्छ। हिमाल रहे मात्र हाम्रो पर्यटन, पर्यावरण र अस्तित्व कायम रहन्छ ।
तसर्थ, मनास्लु लगायतका हाम्रा सम्पूर्ण हिमशिखरहरूको दिगो संरक्षणका लागि नीतिगत स्पष्टता र तत्काल व्यावहारिक कदम चाल्न सरकार र सरोकारवाला निकाय पछि पर्नु हुँदैन ।




