
गण्डकीका किसानलाई निराश हुन नदिऔँ
अन्नदाता भनेर चिनिने किसानहरू कसरी प्राकृतिक वा विभिन्न वाधा व्यवधानको मारमा पर्छन् भन्ने ताजा र दुखद उदाहरण बनेको छ— गण्डकी गाउँपालिका । व्यवसायिक तरकारी खेती र धान उत्पादनमा अहोरात्र खटिएका यहाँका किसानहरू यतिबेला निराशा र पीडाको गहिरो भासमा भासिएका छन् ।
गत चैत, वैशाखमा आएको विनाशकारी हावाहुरी र असिनापानीले करोडौँ मूल्यको तरकारी बाली नष्ट गर्दा लागेको घाउको खाटो पुरिएको थिएन । उचित राहत र क्षतिपूर्तिको आसमा मन्त्रालय र सरकारी कार्यालयका ढोका चहार्दाचहार्दै थाकेका किसानमाथि फेरि अहिले अर्को बज्रपात परेको छ ।
भोटेकोशी त्रिशूली नदीमा आएको बाढी र पहिरोले किसानको उठिबास लगाउने अवस्था सिर्जना गरेको छ । लहलहाउँदो धान रोपिएको सयौँ रोपनी उब्जाउ खेत नदीले कटान गरेर बगाएको छ भने सिङ्गो बस्ती र थातथलो नै उच्च जोखिममा परेको छ । प्राकृतिक विपत्तिको यो श्रृङ्खला यतिमा मात्र रोकिएको छैन किसानले दुखजिलो गरेर उब्जाएको तरकारी बजारसम्म पु¥याउने सहकारीको संकलन केन्द्र नै डुबानमा परेको छ ।
एकातिर सडक सञ्जाल लामो समयदेखि अवरुद्ध हुँदा उत्पादित तरकारी बाटोमै कुहाएर फाल्नुपर्ने विवशता छ भने अर्कातिर श्रमको मूल्य माटोमा मिलेको हेरेर मनको पीडा मनमै गुम्स्याउनुको विकल्प किसानसँग छैन ।यदि यो अवस्था अझै कायम रहने हो भने व्यवसायिक कृषितर्फ मोडिएका युवाहरू पलायन हुनेछन् र क्षेत्रकै कृषि अर्थतन्त्र धरासायी हुने निश्चित छ ।
त्यसैले, अब ढिला नगरी कृषि तथा पशुपन्छी विकास मन्त्रालय, प्रदेश कृषि मन्त्रालय, जिल्ला कृषि विकास कार्यालय तथा कृषिका क्षेत्रमा कार्यरत गैरसरकारी संघ–संस्थाहरूले तत्काल एकीकृत उद्धार र राहतका कार्यक्रम ल्याउन आवश्यक छ ।
देशकै अर्थतन्त्र तहसनहस भइरहेका बेला किसानलाई अहिले नै राहत दिन नसके पनि आगामी बालीका लागि निशुल्क बिउबिजन, रासायनिक मल र प्राविधिक सहयोग उपलब्ध गराइनुपर्छ । किसानको मर्म बुझेर उनीहरूलाई पुनः उठ्न, हौसला दिन र आत्मनिर्भर बनाउन राज्य र सरोकारवाला निकायले तत्काल ठोस कदम चाल्नुपर्छ ।




