| मङ्लबार, भदौ २२, २०८३

सेप्टेम्बर ८ आशा र डरको छुट्टै कथा

अंकित खनाल ।

सेप्टेम्बर ८, २०२५ मेरो जीवनको त्यस्तो दिन हो, जसलाई म चाहेर पनि कहिल्यै बिर्सन सक्दिनँ। क्यालेन्डरमा यो एउटा सामान्य मिति हुन सक्छ, तर मेरो लागि यो पीडा, डर, संघर्ष र आशासँग जोडिएको दिन हो।

त्यो दिन म मात्र होइन, मेरो पुस्ताका हजारौँ युवाहरू आफ्नो आवाज लिएर सडकमा निस्किएका थिए। हामीले कुनै व्यक्तिगत स्वार्थका लागि होइन, भ्रष्टाचार, बेथिति, बेरोजगारी, राजनीतिक अस्थिरता र सरकारको जवाफदेहिताको अभावविरुद्ध आवाज उठाएका थियौँ। सामाजिक सञ्जालमाथिको प्रतिबन्ध तत्कालको कारण भए पनि त्यसको पछाडि वर्षौँदेखि जम्मा भएको युवाहरूको असन्तुष्टि थियो। हामीलाई आफ्नो देशमा केही राम्रो होस् भन्ने चाहना थियो र हाम्रो आवाज परिवर्तनको सुरुवात बनोस् भन्ने आशा थियो।

सुरुमा आन्दोलन शान्तिपूर्ण देखिएको थियो। सडकमा युवाहरूको भीड थियो, हातमा नेपालको झण्डा र परिवर्तनका माग बोकेका प्लेकार्डहरू थिए। कसैको अनुहारमा आक्रोश थियो भने कसैको आँखामा भविष्यप्रतिको आशा थियो। हामी आफ्नो अधिकारका लागि बोलिरहेका थियौँ र हाम्रो आवाज सम्बन्धित निकायसम्म पुग्ने विश्वास गरेका थियौँ। तर केही समयपछि परिस्थिति तनावपूर्ण हुँदै गयो। अश्रुग्यास, बल प्रयोग, भागदौड र घाइते मानिसहरूको दृश्यले वातावरण भयावह बन्यो।

केही समयअघि मात्र सँगै उभिएका मानिसहरू अचानक आफ्नो ज्यान जोगाउन दौडिरहेका थिए। धेरै मानिसले आफ्नो साथी र परिवारका सदस्य खोजिरहेका थिए भने कतिपय अस्पतालतर्फ दौडिरहेका थिए। सेप्टेम्बर ८ र ९ को घटनामा कम्तीमा ७६ जनाको मृत्यु भएको र हजारौँ मानिस घाइते भएको मानवअधिकारसम्बन्धी रिपोर्टहरूले उल्लेख गरेका छन्। आज सरकारको विवरणअनुसार आन्दोलनमा घाइते भएका २,६६० जनालाई प्रमाणित गरिएको छ। ती प्रत्येक संख्या पछाडि एउटा परिवार, एउटा सपना र एउटा पीडा लुकेको छ। म पनि त्यही पीडा भोगेका मानिसहरूमध्ये एक हुँ।

त्यो दिनको पीडा केवल घटनास्थलमै सीमित रहेन। त्यसको प्रभाव धेरैको जीवनमा लामो समयसम्म रह्यो। पीडित हुनु भनेको शरीरमा चोट लाग्नु मात्र होइन। केही चोटहरू आँखाले देखिँदैनन्, तर मनमा गहिरो रूपमा बस्छन्। त्यो दिनका आवाज, डर, भागदौड र अनिश्चितता आज पनि कहिलेकाहीँ सम्झनामा फर्किन्छन्। हामीमध्ये धेरैले आफ्नो स्वास्थ्य, पढाइ, काम र सामान्य जीवनमा असर बेहोर्नुपर्‍यो। परिवारका मानिसहरूले पनि हामी सुरक्षित छौँ कि छैनौँ भनेर चिन्ता गर्नुपर्‍यो। त्यसैले आज पनि मेरो मनमा एउटा प्रश्न उठ्छ—आफ्नो अधिकार र भविष्यका लागि आवाज उठाउँदा हामीले यति ठूलो मूल्य किन चुकाउनुपर्‍यो ?

तर म यो पनि स्पष्ट रूपमा भन्न चाहन्छु कि आन्दोलनमा सहभागी भएका सबै युवाहरू हिंसा गर्न सडकमा आएका थिएनन्। हामी परिवर्तन चाहन्थ्यौँ। हामी यस्तो नेपाल चाहन्थ्यौँ जहाँ सरकार जनताप्रति जवाफदेही होस्, भ्रष्टाचारलाई सामान्य रूपमा स्वीकार नगरियोस् र युवाले आफ्नो भविष्य नेपालमै देख्न सकून्। आन्दोलनका क्रममा भएका हिंसा र तोडफोडलाई समर्थन गर्न सकिँदैन, तर त्यसले आन्दोलनको मूल प्रश्नलाई पनि गलत बनाउँदैन।

सुशासन, पारदर्शिता, जवाफदेहिता र राम्रो भविष्यको माग कुनै पनि नागरिकको गलत माग होइन। बरु राज्यले यस्ता आवाजलाई दबाउनेभन्दा सुन्ने र समाधान खोज्ने प्रयास गर्नुपर्छ। सेप्टेम्बर ८ र ९ पछि नेपालको राजनीतिमा ठूलो परिवर्तन आयो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए, त्यसपछि अन्तरिम सरकार गठन भयो र अन्ततः २०२६ को निर्वाचनपछि नयाँ राजनीतिक नेतृत्व आएको छ।

अहिले बालेंद्र शाहको नेतृत्वमा सरकार बनेको छ। यो परिवर्तनलाई म केवल सरकार परिवर्तनको रूपमा हेर्दिनँस यसमा हाम्रो पुस्ताले उठाएको आवाज र जनताको परिवर्तनप्रतिको चाहनाको पनि भूमिका छ भन्ने मलाई लाग्छ। लामो समयदेखि परिवर्तनको प्रतीक्षामा रहेका युवाहरूका लागि यो नयाँ सुरुवातजस्तो हो। अब हामीले आशा गरेको परिवर्तन व्यवहारमा देखिने समय आएको छ।

म वर्तमान सरकारप्रति आशावादी छु। तर मेरो आशा अन्धो समर्थन होइन। म चाहन्छु कि सरकारले हामीले सडकमा उठाएका प्रश्नहरूलाई गम्भीरतापूर्वक लियोस्। बेरोजगारी, भ्रष्टाचार, शिक्षा, स्वास्थ्य, आर्थिक अवसर र सुशासनका क्षेत्रमा ठोस परिवर्तन देखियोस्। युवाहरूलाई रोजगारी र अवसरका लागि विदेश जानुपर्ने बाध्यता कम होस् र आफ्नै देशमा भविष्य निर्माण गर्न सक्ने वातावरण बनोस्। हामीले धेरैपटक परिवर्तनका भाषण सुनेका छौँस अब परिवर्तनको परिणाम देख्न चाहन्छौँ। नयाँ सरकारको सबैभन्दा ठूलो परीक्षा यही हुनेछ—उसले जनताको आशालाई कति व्यवहारमा बदल्न सक्छ ?

त्यससँगै, सेप्टेम्बर ८ र ९ का पीडितहरूको न्याय पनि मेरो ठूलो अपेक्षा हो। हामीलाई केवल राहत वा क्षतिपूर्ति होइन, सत्य र जवाफदेहिता पनि चाहिन्छ। त्यो दिन के भयो, किन यति ठूलो जनधनको क्षति भयो र त्यसका लागि को जिम्मेवार थियो भन्ने विषयमा निष्पक्ष अनुसन्धान हुनुपर्छ। दोषी जोसुकै भए पनि कानुनअनुसार कारबाही हुनुपर्छ। न्याय राजनीतिक प्रतिशोधको माध्यम बन्नु हुँदैन, तर राजनीतिक कारणले न्याय रोक्नु पनि हुँदैन। पीडित र मृतकका परिवारले सत्य थाहा पाउने र न्याय पाउने अधिकार राख्छन्।

आज एक वर्षपछि पनि म त्यो दिनको पीडा बोकेर हिँडिरहेको छु। तर म निराश छैन। म चाहन्छु कि त्यस दिन ज्यान गुमाएका र घाइते भएका सबैको पीडा नेपालको भविष्य निर्माणको प्रेरणा बनोस्। हामीले चाहेको परिवर्तन केवल सरकार परिवर्तन होइनस शासन गर्ने शैली, राजनीतिक संस्कार र नागरिकप्रतिको व्यवहारमा परिवर्तन हो। युवाहरूको आवाजलाई बेवास्ता नगरियोस् र उनीहरूको भविष्यसँग सम्बन्धित निर्णयहरूमा उनीहरूको आवाजलाई पनि महत्व दिइयोस्।

म सेप्टेम्बर ८ को एउटा पीडित हुँ, तर म निराश नेपाली होइन। म अझै पनि राम्रो नेपालको सपना देख्छु। म वर्तमान सरकार सफल भएको देख्न चाहन्छु र आशा गर्छु कि यसले हाम्रो पुस्ताले उठाएका प्रश्नहरूको सम्मान गर्नेछ। हामीले सडकमा खोजेको परिवर्तन अब नीति, व्यवहार र दैनिक जीवनमा देखिनुपर्छ। किनकि वास्तविक परिवर्तन भाषणमा होइन, जनताको जीवनमा महसुस हुनुपर्छ।

हामीले भोगेको पीडा व्यर्थ नहोस्, ज्यान गुमाएका साथीहरूको सपना अधुरो नरहोस् र भविष्यमा कुनै नेपाली युवाले आफ्नो अधिकारका लागि आवाज उठाउँदा आफ्नो ज्यान वा भविष्य गुमाउन नपरोस्। सेप्टेम्बर ८ मेरो लागि केवल एउटा दुःखद मिति होइन। यो मेरो पीडाको सम्झना हो, मेरो पुस्ताको संघर्षको प्रतीक हो र अझ राम्रो नेपालको आशाको दिन पनि हो। त्यो दिनलाई सम्झँदा मन भारी हुन्छ, तर त्यही सम्झनाले मलाई एउटा राम्रो भविष्यको आशा गर्न पनि सिकाउँछ।

म चाहन्छु, अब आउने पुस्ताले हामीले भोगेको पीडा भोग्न नपरोस्। उनीहरूले आफ्नो आवाज उठाउँदा डराउन नपरोस्, आफ्नो अधिकार माग्दा असुरक्षित महसुस गर्न नपरोस् र आफ्नो भविष्य खोज्न देश छोड्नुपर्ने बाध्यता नहोस्। यदि सेप्टेम्बर ८ ले हामीलाई केही सिकाएको छ भने त्यो यही हो—परिवर्तन आवश्यक छ, तर त्यो परिवर्तन जनताको जीवन सुरक्षित, सम्मानित र समृद्ध बनाउने दिशामा हुनुपर्छ।

अन्ततः, म एउटा पीडितको रूपमा यति मात्र भन्न चाहन्छु—हामीले गुमाएका जीवनहरू, भोगेका चोटहरू र देखेका दुःखहरू केवल इतिहासका पानामा सीमित नहोस्। ती घटनाबाट राज्यले पनि सिक्नुपर्छ र समाजले पनि। हाम्रो आवाज दबिएर होइन, सुनेर परिवर्तन आउनुपर्छ। सेप्टेम्बर ८ को पीडा मेरो सम्झनामा सधैँ रहनेछ, तर म चाहन्छु कि यही पीडाबाट एउटा यस्तो नेपालको निर्माण होस् जहाँ नागरिकले आफ्नो अधिकारका लागि आवाज उठाउँदा आफ्नो जीवनको मूल्य चुकाउन नपरोस्।

प्रतिक्रिया दिनुहोस्