| बिहिबार, भदौ १०, २०८३

त्रिशुली बाढीको वितण्डा : उच्च सावधानीले गोरखामा मानवीय क्षति हुन पाएन

त्रिशुलीको भयावह बाढीबाट गोरखाका चारवटा झोलुङ्गे पुलहरु क्षतिग्रस्त भए । दुईवटा मोटरेबल पुलमा सामान्य क्षति भयो ।
त्रिशुलीका किनारमा दर्जनौँ बस्ती थिए । सावधानीका कारण कुनै बस्तीमा पनि मानवीय क्षति हुन पाएनन् । यसमा स्थानीयबासीको सावधानी त भयो नै, जिल्ला विपद् व्यवस्थापन समिति तथा गाउँपालिकाका जनप्रतिनिधिको खटाइको पनि धेरै ठूलो भूमिका रह्यो ।

गण्डकीबासीलाई त्रिशुलीको बाढीबाट जोगाउन गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिना र जिल्ला विपद् व्यवस्थापनको टिम दिनभर खटे । यति ठूलो बाढी जीवनमा पहिलोपल्ट देखेको भन्दै तिमिल्सिना आठ घण्टाको यत्तिको अनवरत खटाइ पनि जीवनै पहिलो अनुभव रहेको बताउँछन् ।

उनी नौबजेतिर निवासबाट गाउँपालिकाको कार्यालयतर्फ जाँदै थिए । मोबाइलमा गोरखास्थित सशस्त्र प्रहरी बलका इञ्चार्जको फोन आयो । फोनमा उनले रसुवातर्फबाट धेरै ठूलो बाढी आइरहेको जानकारी गराउँदै त्रिशुली नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानतर्फ सार्न अनुरोध गरे ।

उहाँको फोन राख्नेबित्तिकै फेरि गोरखाका प्रमुख जिल्ला अधिकारीको फोन आयो । प्रजिअले पनि सोही ब्यहोराको सूचना दिँदै पालिकाबासीको जीवनरक्षा गर्न अनुरोध गरे । त्यसलगत्तै उनी पालिकाको कार्यालयतर्फ नगई गाडी त्रिशुलीको किनारामा रहेका बस्तीतर्फ मोडे । यो बीचमा उनले त्रिशुलीले छुने वडाका वडाअध्यक्षहरुलाई फोन गर्न थाले । र तत्काल नदी किनाराका बस्ती खालि गराउन वडाअध्यक्षहरुलाई आग्रह गरे ।

‘त्रिशुली हाम्रो गाउँपालिकाको वडा नं. १, २, ७ र ८ भएर बग्छ । मैले सबै वडा अध्यक्षहरुलाई फोन गरी जुन अबस्थामा भए पनि तत्काल किनाराका बस्तीतर्फ जान र बस्ती खालि गराउन आग्रह गरेँ । म पनि त्यतैतर्फ लागेँ’, उनले भने, ‘कतिपय अबस्थामा मान्छेहरु अराजक भई किनारामा जाने, माछा समाउन खोज्ने, मुढा तान्न खोज्ने, बगाई ल्याएका विभिन्न बस्तु समात्न खोज्ने पनि गर्न सक्छन् । ती सब काम नगर्न र नगराउन वडाअध्यक्षहरुलाई कडाइका साथ भनेँ । वडाअध्यक्षहरुले वडा सदस्यहरुलाई पनि डाक्नु भयो । तत्काल सबैतिर फोन गरेर जो जुन अबस्थामा भए पनि तत्काल नदी किनारभन्दा धेरै पर जान सचेत गराउनुभयो ।’ घ्याल्चोक, भुम्लिचोक र रागिनासका प्रहरी टोलीलाई परिचालन गरी नदी किनारमा नजान र बस्ती खालि गराउन खटाएको उनले बताए ।

त्यसपछि पालिका प्रमुख तिमिल्सिनाले छिमेकी धादिङको बेनिघाट रोराङ गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकाका प्रमुखहरुसंग पनि सम्पर्क गरी संयुक्त सुरक्षा रणनीतिहरु बनाउन थाले । ‘नुवाकोट, धादिङ र चितवन जिल्लाका त्रिशुलीले छुने पालिकाका प्रमुखहरु बीच निरन्तर सम्पर्क हुन थाल्यो । नदी कहाँ आइपुग्यो, बहाव कुन गतिमा, कति क्षेत्र ओगटेर आइरहेको छ भन्ने बारे छिनछिनमा जानकारी लिइरह्यौँ । यसले पनि हामीलाई सचेत रहन मद्दत ग¥यो’, अनुभव सुनाउँदै अध्यक्ष तिमिल्सिनाले भने, ‘हामीले सबैभन्दा धेरै जोडचाहिँ मानवीय क्षति हुन नदिनु नै थियो त्यसैले, नदी किनार आसपासको बस्ती पूरै खालि गराउन सफल भयौँ । त्यसैले हाम्रोतिर मानवीय क्षति भएन ।’ विपद् व्यवस्थापनका लागि छिनछिनमा बेनिघाटदेखि बुटारसम्म दौडधुप गरेको दिनभरको अनुभव उनले सुनाए ।

दौडधुपको परिणाम त्रिशुलीबाट मानवीय क्षति हुनबाट जोगाउन सफल भएको अध्यक्ष तिमिल्सिनाले बताए । ‘पृथ्वीराजमार्गको बेनिघाट र गण्डकी ८ जोड्ने पक्की पुलमा आंशिक क्षति भयो । धवानीघाटको झोलुंगेपुल र हिक्लुङघाटको झोलुंगेपुल कामै नलाग्ने गरी क्षतिग्रस्त भएको छ । बुटारको बेलिब्रिज र फिस्लिङको झोलुंगेपुलमा पनि क्षति भएको छ’, उनले भने, ‘किसानका खेतहरु बगेका छन् । तर मानवीय क्षति छैन ।’ रसुवा, नुवाकोटतिरबाट बगेर आएका शव भने त्रिशुली किनारतिर बग्रेल्ती देखिएको उनको भनाइ छ ।’ यसमा आफ्नो मात्र नभै सबैको संयुक्त प्रयास रहेको उनको भनाइ छ ।

गृहमन्त्रालय, राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण तथा नुवाकोट, धादिङ र चितवन जिल्लाको सुरक्षा टिम तथा गण्डकी गाउँपालिकासंग निरन्तरको समन्वय र सहकार्यका कारण मानवीय क्षतिहुनबाट जोगाउन सकिएको प्रमुख जिल्ला अधिकारी तुलसी श्रेष्ठ बताउँछन् । ‘हाम्रो सुरक्षा टिम दिनभर त्रिशुली बाढी प्रभावित क्षेत्रमा खट्यौँ’, प्रजिअ श्रेष्ठले भने, ‘विशेष गरी नदी तटमा बसोबास गर्नेहरुलाई समयमै सूचना पु¥याउन सक्यौँ । सार्वजनिक सूचना जारी ग¥यौँ । निरन्तर माइकिङ ग¥यौँ र नदी तटमा जानलाई कडाइका साथ रोक्यौँ । यसले गर्दा नै मानवीय क्षति हुनबाट जोगाउन सक्यौँ ।’ यस्ता विपदमा पूर्ण सावधानी अपनाउन सकेमा मानवीय क्षतिबाट बच्न सकिन्छ भन्ने पाठ सिकेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्