| बुधबार, भदौ ९, २०८३

पालुङटारबाट गोसाइकुण्ड गएका ३३ जना यात्रु सम्पर्कबिहीन

गोरखाको पालुङटार नगरपालिकाकाबाट रसुवाको गोसाइँकुण्ड तीर्थ यात्रामा गएकाहरु सम्पर्कबिहिन भएका छन् । पालुङ्टार नगरपालिका ५ ठाँटीपोखरीबाट गोसाइकुण्ड यात्रामा गएका यात्रुहरु बुधबार बिहानदेखि सम्पर्क बिहिन भएका पालिकाकी उपप्रमुख बन्दना पाण्डेले बताइन् ।

बुधबार बिहान भोटेकोशीको बाढीको घटना लगत्तैदेखि उनीहरुको अवस्था अज्ञात रहेको उपप्रमुख पाण्डेले जानकारी दिइन् । ‘यहाँबाट दुईवटा माइक्रो र एउटा बसमा यात्रुहरु गोसाइकुण्डतर्फ गएका थिए’, उनले भनिन्, ‘हाल दुईवटा माइक्रो बसका यात्रुहरु सुरक्षित अवस्थामा रहेको जानकारी प्राप्त भएको छ । एउटा बसको यात्रुहरुको अवस्था भने अज्ञात छ । केही समयअघि बसका चारजनाले आफूहरु हामफालेर सुरक्षित रहेको जानकारी गराएका थिए । अहिले उनीहरु पनि सम्पर्कमा छैनन् ।’ नगरपालिकाले बसका यात्रुहरुको अवस्था बारे सोधखोज गरिरहेको र विभिन्न निकायसंग आवश्यक समन्वय गरिरहेको उपप्रमुख पाण्डेको भनाइ छ ।

पालुङ्टारबाट तीर्थ गर्न गोसाइँकुण्ड गएका ३३ जना यात्रुहरु सम्पर्कमा नरहेकोबारे आफूले पनि जानकारी पाएको प्रमुख जिल्ला अधिकारी तुलसी श्रेष्ठले बताए । ‘३८ जना सवार रहेको बसबाट पाँचजना हाम्फालेर बचेको बाँकीको अवस्था अज्ञात छ’, प्रजिअ श्रेष्ठले भने, ‘हामीले यही अनुसार गृहमन्त्रालय र नुवाकोटसंग समन्वय गरेर सोधखोज गरिरहेका छौँ ।’
बुधबार बिहान ९ बजे तिब्बती क्षेत्रबाट भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन आसपासको क्षेत्रमा ठूलो क्षति पु¥याएको छ ।

प्रतिक्रिया दिनुहोस्