
सावधानी नै जीवन रक्षाको पहिलो शर्त
गोरखा भूकम्पले एउटा महत्वपूर्ण पाठ सिकाएको थियो, ‘भूकम्प वा विपद् आफैँले मान्छे मार्दैन, हाम्रो असावधानी, हेलचेक्र्याइँ र कमजोर संरचनाले मानिसको ज्यान लिन्छ ।’ अहिले मनसुन सक्रिय भएसँगै देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानजस्ता विपद्को जोखिम उच्च बनेको छ । यस्तो संवेदनशील समयमा सबैभन्दा प्राथमिक र महत्वपूर्ण कार्य भनेकै जनधनको सुरक्षा गर्नु हो ।
विपद्को पूर्वतयारी र तत्परताले ठूलो क्षति रोक्न सकिन्छ भन्ने उत्कृष्ट उदाहरण हालै गण्डकी र सहिद लखन गाउँपालिकामा देखिएको छ । सम्भावित बाढीको पूर्वसन्ध्यामा स्थानीय जनप्रतिनिधि, जिल्ला सुरक्षा निकाय र स्थानीय प्रशासनले देखाएको उच्च सतर्कता र खटाइकै कारण गोरखास्थित त्रिशूली नदी तटीय क्षेत्रका नागरिकले ज्यान गुमाउनु परेन । केही झोलुङ्गे तथा मोटरेबल पुल र खेतबालीमा क्षति पुगे पनि अमूल्य मानवीय क्षति शून्यमा सीमित रहनु ठूलो सफलता हो । यसले पुष्टि गर्छ— पूर्वसूचना, सतर्कता र सही समयको व्यवस्थापनले जीवन जोगाउन सकिन्छ ।
बाँच्नु र बचाउनु नै विपद् व्यवस्थापनको पहिलो सिद्धान्त हो । भौतिक क्षतिको पुनर्निर्माण समयक्रममा हुन सक्छ, तर गुमेको जीवन फर्काउन सकिँदैन । त्यसैले आगामी दिनहरूमा पनि बाढी–पहिरोको जोखिम कायमै रहेकाले स्थानीय प्रशासन, जनप्रतिनिधि र सर्वसाधारण कसैले पनि हेलचेक्र्याइँ गर्नु हुँदैन ।
जोखिमयुक्त तटीय तथा पहिरोको जोखिम भएका क्षेत्रका बासिन्दालाई निरन्तर सतर्क राख्नु पर्दछ । त्यस्तै पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी र पहुँचयोग्य बनाउनु पर्दछ । उद्धार तथा राहत टोलीलाई चौबीसै घण्टा तयारी अवस्थामा राख्ने र नागरिक स्वयंले पनि अनावश्यक जोखिम नलिन र सुरक्षा निकायको सूचना पालन गर्न ध्यान दिने गर्दा जनधनको क्षतिबाट जोगिन सकिन्छ ।
विपद् बाजा बजाएर आउँदैन, तर सावधानी अपनाए यसको क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ । त्यसैले संकटको यो घडीमा सम्पूर्ण जनप्रतिनिधि, सुरक्षाकर्मी र आम नागरिक एकजुट भई पूर्ण सावधानी र पूर्वतयारीका साथ अघि बढ्नु नै आजको मुख्य आवश्यकता हो ।




