| बुधबार, भदौ ९, २०८३

त्रिशुली किनार छाड्न जनप्रतिनिधिहरुद्वारा आग्रह


रसुवाबाट आउँदै गरेको बाढीको प्रभावबाट जोगिन त्रिशुली किनार आसपास रहेका गोरखाका जनप्रतिनिधिहरुले आग्रह गरेका छन् । त्रिशुली किनारमा अवस्थित गण्डकी गाउँपालकाले आफ्ना नागरिकलाई त्रिशुली किनार आसपाक नरहन आग्रह गरेको हो ।

‘हामीले नदी किनारका सबै टोल, बस्तीमा फोन गरी बस्ती खालि गरी सुरक्षित ठाउँमा जान आग्रह गरिसकेका छौँ’, गण्डकी गाउँपालिकाका प्रमुख दीपक तिमिल्सिनाले भने, ‘चल सम्पतिलाई पनि सुरक्षित स्थानतर्फ सार्न भनेका छौँ ।’ अहिलेसम्म यहाँ नदीको बहाब नबढेको भन्दै उनले नागरिकको जीवन बचाउनु पहिलो कर्तव्य भएको बताएका छन् ।
‘नदी आसपास रहेका विद्यालय बन्द गर्न पनि सूचना जारी गरेका छौँ । खेतबारीमा गएका किसानलाई समेत फोन गरी सुरक्षित स्थानमा जान भनेका छौँ’, उनले भने, ‘चितवनतर्फका पालिकाका अध्यक्ष र अरु जनप्रतिनिधिहरुसंग पनि सहकार्य गरिरहेका छौँ ।’

गोरखाको गण्डकी ८ सिउरेनीटारदेखि मुग्लिनसम्म त्रिशुली नदीले छोएको छ । ‘त्रिुशुली किनारमा रहेका सिउरेनीटार, धवादीघाट, ज्यामिरघाट, बुटार रागिनासदेखि मुग्लिनसम्मका वडाअध्यक्षहरु समन्वय गरी खटेका छौँ’, गण्डकी ७ का वडाअध्यक्ष तुलसी रेग्मीले भने, ‘अहिलेसम्म त बाढी आएको छैन । तर हामीले अग्रिम सूचना जारी गरिसकेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्