
कृषि क्षेत्र हेपाइमा नपरोस्
‘नेपाल कृषि प्रधान देश हो’, ‘नेपालको विकासको मूल आधार भनेको कृषि क्षेत्रको प्रवद्र्धन हो’, ‘व्यवसायिक कृषि आजको आवश्यकता’, ‘कृषिमा यान्त्रिकरण’, ‘आधुनिक कृषि प्रणालीको प्रवद्र्धन’ ‘रैथाने वालीको उत्थान’जस्ता नारा जहाँपनि, जहिले पनि गुञ्जिरहन्छ ।
नेपाल सरकार होस् वा प्रदेश सरकार, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका वा गाउँपालिका, जसको नीति तथा कार्यक्रममा पनि रहेको पाइन्छ । तर दुख, पीडा, सकस, घाटा, आपतविपद सबै कृषि क्षेत्रले खेप्नु परिरहेको छ । खेती हुने, नहुने मौसम किसानलाई नै लाग्छ, मरुवा, डढुवा, स्वाइन फ्लु, वर्डफ्लु जस्ता उत्पादन सखाप पार्ने महामारी किसानले नै झेल्नु पर्छ ।
भेल, बाढी बर्षा, हावाहुरी, असिना पानीको मार उनीहरुले नै सहनु पर्छ । दुख गरेर उत्पादन गरेको उपजको मूल्य विचौलियाले राखिदिन्छन्, बिक्री गरेर हात परेको रकमले लागत पनि नउठ्ने समस्या उनीहरुले नै सहनु पर्छ । चुमनुब्रीका स्याउजस्ता कतिपय किसानको उत्पादन समयमै सुरक्षित पूर्वक बजार लान समेत नसकिने अवस्था छ । जसले गर्दा उत्पादन कि बाँडेर सकिन्छ, कि सुकुटी, रक्सी बनाएर खपत गर्नुपर्ने बाध्यता छ ।
न उनीहरुलाई उचित राहत छ, न क्षतिपूर्ति, न बिमा । त्यसैले सबैभन्दा सकसको पेशा, सबैभन्दा उपेक्षामा परेको पेशा, सबैभन्दा हेपिएको पेशा बनेको छ कृषि । अहिले क्याम्पस पढेका, जागिर खाएका त परको कुरा, स्कूल तह पढेकाहरु पनि कृषि पेशा नगर्न चाहन्छन् । त्यसैले फाँटका ठूला खेतहरु पनि बाँझा बसेका छन् ।
यस्तो दुख लाग्दो परिस्थिति बनेको छ कृषि क्षेत्रमा । सरकारले यदि साँच्चै कृषि क्षेत्रलाई प्रश्रय दिने हो भने उनीहरुले भोग्नु परेका विकराल प्राकृतिक समस्या मनन गरी समयमै उचित क्षतिपूर्ति वा उचित राहत दिनु पर्छ । यसले उनीहरुको आत्मबल बढ्छ, मनोबल बढ्छ । कृषि क्षेत्रमा निरन्तरता दिन अभिप्रेरणा जाग्छ ।




