| मङ्लबार, जेष्ठ २५, २०८३

शिक्षामा पालिकावासीको पहुँच बढाउँदै बारपाक सुलिकोट : इन्जिनियरिङदेखि एमबिबिएस अध्ययनसम्म छात्रवृत्ति


बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्रका विद्यार्थीलाई इन्जिनियरदेखि एमबिबिएस अध्ययनसम्म छात्रवृत्ति उपलब्ध गराउन थालेको छ । शिक्षामा पालिकावासीको पहुँच बढाउने उदेश्यले गत आर्थिक बर्षबाट छात्रवृत्ति उपलब्ध गराउन थालिएको पालिकाले जनाएको छ ।

विपन्न एवं अल्पसंख्यक तथा सीमान्तकृत समुदायलाई लक्षित गरी छात्रवृत्ति कार्यक्रम लागू गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवास आलेले बताए । ‘विपन्न परिवारका विद्यार्थीलाई एमबिबिएस अध्ययनका लागि नेपाल सरकारले तोकेको कलेज शुल्कको ५० प्रतिशत पालिकाले व्यहोर्छ,’ उनले भने, ‘चार बर्षको कोर्ष पुरा गर्न ४० लाख लाग्ने रहेछ, २० लाख पालिकाले दिन्छ ।’ प्रत्येक बर्ष पाँच लाखका दरले कलेजलाई शुल्क बुझाइने उनले जानकारी दिए । उनका अनुसार हाल एक जना पालिकाको छात्रवृत्तिमा एमबिबिएस अध्ययन गरिरहेका छन् ।

नर्सिङ र एचए कोर्षमा पनि पालिकाले छात्रवृत्ति लागू गरेको छ । पालिकाले उपलब्ध गराएको छात्रवृत्तिमा हाल दुई जना अध्ययनरत छन् । इन्जिनियरिङ र प्राविधिक शिक्षामा पनि छात्रवृत्ति प्रदान गर्दै आएको पालिकाले जनाएको छ ।

बराम समुदायको बाहुल्यता रहेको पालिकाले बराम र दलित समुदायका विद्यार्थीलाई स्नातक र स्नातकोत्तर अध्ययनका लागि पूर्ण छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । ‘नेपाल अधिराज्यभर जहाँ पढेपनि कलेज शुल्क सबै पालिकाले तिर्छ । शिक्षामा पछाडी परेका वर्गलाई अग्रसर बनाउँदै पहुँच वृद्धि गर्ने उदेश्यले म पालिका आएपछि गत आर्थिक बर्षबाट यो निर्णय गरेका हौ,’ प्रमुख प्रशासकीय अधिकृत आलेले भने । गत बर्ष स्नातक तह अध्ययनका लागि पाँच जनालाई छात्रवृत्ति उपलब्ध गराइएको उनले बताए ।

अभिभावकविहीन बिद्यार्थीका लागि पालिकाले निशुल्क छात्रावास समेत संचालन गरेको छ । वडा नम्वर ६ वहाकोटमा रहेको मनास्लु छात्रावासमा हाल २३ जना विद्यार्थी आवासिय सुविधासहित बस्छन् । सुर्यज्योती माविमा उनीहरु निशुल्क अध्ययन गर्ने व्यवस्था पालिकाले मिलाएको छ ।

‘शैक्षिक सत्र २०८१ सालबाट छात्रावास संचालन गरेका हौ,’ उनले भने, ‘कक्षा १ देखि १२ सम्म पढ्ने अभिभावकविहीन बिद्यार्थीहरुलाई त्यहाँ राखेर पालनपोषण देखि अध्यापन गराउने जिम्मा पालिकाले लिएको छ ।’ छात्रावासमा एक जना होस्टल वार्डेनसहित अन्य कर्मचारी खटाइएको छ । एसईई पश्चात बारपाक बहुप्राविधिक शिक्षालयमा पशु तथा वाली विज्ञान पढ्न चाहनेलाई निशुल्क अध्ययनको व्यवस्था समेत गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्