| बुधबार, बैशाख ८, २०८३

गोरखाका तीन गाउँपालिकालाई नगरपालिका बनाउने प्रस्ताव

जिल्लाको अजिरकोट, बारपाक सुलिकोट र धार्चे गाउँपालिकालाई नगरपालिका बनाउने प्रस्ताव गरिएको छ । स्थानीय तहबाट प्रदेश सरकार हुदैँ उक्त प्रस्ताव संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पेश भएको हो ।

दुई दिन अघिमात्रै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको संख्या र सीमा हेरफेर सम्बन्धी मापदण्डको मस्यौदा सार्वजनिक गरेको थियो । उसले सबै प्रदेश सरकारहरूलाई तीन दिनभित्र मापदण्डमाथि सुझाव पेश गर्न परिपत्र गरेको थियो ।

मन्त्रालयमा पेश भएको प्रस्तावहरू समेत अध्ययन गरेर नेपाल नगरपालिका संघले दुई महिनाअघि अर्को छुट्टै प्रतिवेदन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पेश गरेको थियो । प्रतिवेदनमा केही उपमहानगरपालिकालाई महानगर बनाउनुपर्ने, केहीलाई उपमहानगर बनाउनुपर्ने र कैंयौ गाँउपालिकाहरूलाई नगरपालिका बनाउनुपर्ने उल्लेख छ । सोही अन्तरगत गोरखाका तीन वटा गाउँपालिकालाई नगरपालिका बनाउने प्रस्ताव गरिएको हो ।

कानून अनुसार १० हजार जनसंख्या रहेका हिमाली भेगका स्थानीय तहलाई नगरपालिका बनाउन मिल्छ । ‘हिमाली जिल्लाका तल्लो भागहरूमा त सहजै जनसंख्याको मापदण्ड पुग्छ, हामीले हिमाली जिल्लाको पनि हिमाली भेटमै कतिपय गाउँपालिकाहरू नगरपालिका बन्नसक्ने तथ्यांकहरू भेटेको हो,’ संघका कार्यकारी निर्देशक कलानिधी देवकोटाले भने, ‘उनीहरूलाई नगरपालिकाको रुपमा विकास गर्नुपर्छ भनेर सुझाव दिएका छौं ।’

जनसंख्याको आधारमा उनीहरू एक्लै पनि नगरपालिका बन्नसक्ने भएपनि सम्भाव्यताको दृष्टिकोणले गाभेर नगरपालिका बनाउनु उपयोगी हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्