| शुक्रबार, बैशाख ३, २०८३

प्रतिकूल बन्यो सरकारको शैक्षिक क्यालेण्डर, अनुकूलको शैक्षिक क्यालेण्डर बनाउँदै गोरखाका पालिकाहरु

मेलिना बराम ।
नेपाल सरकारले आउँदो वैशाखको १५ गतेदेखि मात्र भर्ना अभियान र वैशाख २१ गतेदेखि पठनपाठन सुरु गर्नेगरी तय गरेको शैक्षिक क्यालेण्डर प्रतिकूल भएपछि गोरखाका स्थानीय तहहरुले अनुकूलको शैक्षिक क्यालेण्डर बनाएर लागु गरेका छन् ।
पालुङटार नगरपालिकाले बैशाख ४ गते शुक्रबारदेखि भर्ना अभियान सञ्चालन गरेको छ ।

नगरपालिकाको बिहिबार बसेको नगर शिक्षा समिति र नगरपालिका भित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापहरुको संयुक्त बैठकले शुक्रबारदेखि भर्ना अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले २०८३ को भर्ना अभियान वैशाख १५ गतेवाट सुरु गर्ने र वैशाख २१ गतेबाट पठनपाठन सुरु गर्ने निर्णय गरेको थियो । तर, नेपालको संविधान तथा प्रचलित कानून अनुसार आधारभूत तथा माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापन सम्बन्धी अधिकार स्थानीय तहलाई भएको भन्दै नगरपालिकाले ४ गतेदेखि भर्ना अभियान सञ्चालन गरी १० गतेदेखि पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको मेयर विवश चिन्तनले बताए ।

स्थानीय तहको अवस्थालाई मध्यनजर गरी सो निर्णय गरिएको उनले जानकारी दिए । वैशाख १० गतेदेखि विद्यालयको अनुकुल समयमा सोमवार देखि शुक्रवार सम्म दैनिक १ घण्टा थप सहित पाठ्यक्रमले तोकेको पाठ्यभारसहित नियमित पठन पाठन सञ्चालन गर्न आग्रह गरिएको छ । यस्तै भिमसेन थापा गाउँपालिकाले पनि बैशाख ११ गतेदेखि भर्ना सुरु गर्ने तयारी गरेको शिक्षा शाखा प्रमुख यान बहादुर नेपालीले बताए ।

‘चैत्र ३० गते गाउँपालिका भित्रका विद्यालयहरुको प्रअहरुको बैठक बसेको थियो,’ उनले भने, ‘निर्णय नै चाँही गरेको छैन, ११ गतेबाट भर्ना अभियान चाहीँ सञ्चालन गर्ने तयारी गरेका छौं ।’ पठनपाठन भने केन्द्रको निर्णय अनुसार बैशाख २१ गतेबाट नै सुरु गरिने उनले बताए । शहिद लखन गाउँपालिकाले पनि भर्ना अभियानको बारेमा छलफल गरिरहेको जनाएको छ । यता बारपाक सुलिकोट गाउँपालिकाले भने केन्द्रको निर्णयलाई मानेर अघि बढ्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्