
कांग्रेसका न्यौपाने बने उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री
कांग्रेस गोरखाका सभापति एवं गण्डकी प्रदेश सांसद नन्दप्रसाद न्यौपाने उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनेका छन् । गण्डकी प्रदेश सरकारले वुधवार मन्त्रिपरिषद पुनर्गठन गर्दै न्यौपानेलाई उक्त मन्त्रालयको जिम्मेवारी दिएको हो । न्यौपानेले वुधवार सपथ ग्रहण गरेका छन् ।
उनी गोरखा क्षेत्र नम्वर १ को ख प्रदेशबाट निर्वाचित सांसद हुन् । आरुघाट गाउँपालिका–२ मान्वुका उनी हाल कांग्रेस गोरखाका सभापति समेत हुन् । कांग्रेस गण्डकी प्रदेशको प्रमुख सचेतकको जिम्मेवारी पनि उनले सम्हाल्दै आएका छन् ।
सभापति हुनुअघि उनी पार्टी जिल्ला सचिव थिए । दुई कार्यकाल नेविसंघ गोरखाको सभापति बनेर काम समेत गरे । राजनीतिमा फड्को मार्दै उनी सांसदबाट मन्त्री बन्न सफल भएका छन् । कांग्रेस एमालेको भागवण्डा अनुसार वुधवार आठ जना मन्त्री हेरफेर गरिएको हो ।




