| आइतवार, बैशाख ५, २०८३

सडक कालोपत्रेलाई पहिलो प्राथमिकता देऊ

भनिन्छ, विकासको पहिलो खुट्किलो सडक हो । विकासको गति सडकको अवस्थासँगै जोडिएको हुन्छ । जहाँ सडक चिल्ला र कालोपत्रे छन्, त्यहाँ आर्थिक गतिविधि, स्वास्थ्य र शिक्षाको पहुँच पनि गाडीको गतिझैँ कुद्छ । जहाँ सडक केवल नामका छन् वा कच्ची छन, त्यहाँको विकास पनि कछुवाकै गतिमा घिस्रिरहेको हुन्छ । ऐतिहासिक र पर्यटकीय जिल्ला गोरखाको वर्तमान अवस्थालाई हेर्ने हो भने, यहाँको विकासको इन्जिनमा कतै ठूलो ‘ब्रेक’ लागेको स्पष्ट देखिन्छ ।

२०८२ सालको सुरुवाती नौ महिना बितिसक्दा सिंगो गोरखा जिल्लाभर जम्मा १० किलोमिटर सडक मात्र कालोपत्रे हुनु आफैमा एउटा लज्जास्पद चित्र हो । जिल्लाका तीनवटा ठूला निकाय— गोरखा सडक योजना कार्यालय, पूर्वाधार विकास कार्यालय, र सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयको संयुक्त उपलब्धि १० किलोमिटरमा खुम्चिनुले हाम्रो कार्यक्षमता र प्राथमिकतामाथि गम्भीर प्रश्न उठाएको छ ।

ठेकेदारको लापार्बाही, बजेटको अभाव र भ्रष्टाचारका कारण सडक कालोपत्रे हुने काममा समस्या छ । यसबर्ष त झन मध्यपूर्वमा मच्चिएको युद्धका कारण सडक कालोपत्रे प्रत्यक्ष प्रभावित भएको छ । अहिले इन्धनका मूल्य बढेर चरमचुलीमा पुगेको छ । बढि मूल्य तिरेर पनि नपाइने अबस्था छ । त्यस्तै बिटुमिन, रड, सिमेण्ट जस्ता सामान पनि अभाव छ । त्यसैले सडक कालोपत्रे हुने काम रोकिएको छ ।

युद्ध अनिश्चित छ त्यसैले विकास पनि अनिश्चित भएको छ । पहाडी भू–भागमा सडक निर्माणका आफ्नै कठिनाइहरू त छन्, तर इच्छाशक्ति भए यो मुख्य अवरोध होइन । विभिन्न सरकारी कार्यालयहरू बीचको आपसी तालमेल नमिल्दा कामले गति लिन सकेको छैन । सडक विनाको गाउँ, समृद्धिको कल्पना मात्र हो ।

१० किलोमिटर कालोपत्रेले गोरखाका हजारौं नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउन सक्दैन । गाउँ नै गाउँले भरिएको गोरखामा सडक नै समृद्धिको मेरुदण्ड हो । त्यसैले सडक कालोपत्रे गर्ने कामलाई प्राथमिकता देऊ ।

प्रतिक्रिया दिनुहोस्