
मनकामनाको सवारी दुर्घटनामा मृत्यु हुनेहरुको सनाखत
मनकामना दर्शन गरेर फर्कदै गरेको विद्युतीय माइक्रोबस दुर्घटनामा परि मृत्यु हुनेहरुको सनाखत भएको छ । भारतका करिब ५८ वर्षिय मुतु कुमार, ५८ कै अनामलिक, ५९ वर्षकी मिनाक्षी, ५३ का सिवगामी, ५७ वर्षका बिजायल, ५८ की मिना र ६० वर्षका तमिलारशीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
शनिबार बेलुकीको ७ः३० बजे मनकामनाको दर्शन गरेर फर्केका १६ जना भक्तजनहरु सवार विद्युतीय माइक्रोबस दुर्घटनामा परेको हो । वाग्मती प्रदेश १–००६ ख ८४३० नंबरको माइक्रोबस मनकामना मझुवा सडकखण्ड अन्तर्गत सहिदलखन गाउँपालिका ३ कानटारमा दुर्घटना भएको जिल्ला प्रमुख एसपी भरतबहादुर बिकले बताउनुभयो ।
सडकखण्डबाट करिब दुईसय मिटर तल खसेको माइक्रोको ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने उहाँको अनुमान छ । उहाँका अनुसार घटनाका घाइतेहरुलाई उद्धार गरी थप उपचारका लागी पुरानो मेडिकल कलेज चितवन लगिएको छ । ६२ वर्षका सोरनम, ६५ वर्षका मंगदा जलम, ७५ वर्षकी सुभाद्रा, ६५ की मायाल, ७३ की सरोजा, ७५ की भाग्यलक्ष्मी र ३४ की मिनाक्षीको उपचार भैरहेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
चालक लमजुङको बेसीशहर नगरपालिका १ का ४६ वर्षका पुष्प मल्ल ठाकुरी सकुशल छन् भने सहचालक बेसीशहर नगरपालिका ३ बस्ने २९ वर्षका सन्तोष गुरुङ घाइते छन् ।
घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।




