बालमन्दिरका अनाथ बालबालीकालाई नयाँ लुगा प्रदान

असोज ३०, गोरखा ।
एकता सेवा समाजका अध्यक्ष एवमं् ब्यबसायी दिनेश दानीले बालमन्दिर माध्यामिक विद्यालयको अनाथ आश्रमका बालबालीकालाई दशैंका लागी नयाँ लुगा दिएका छन् । दशैं अबधिभर आश्रममा रहने तिनजना बालबालीकालाई जन्मदिनको अबसर पारेर दानीले दशैंका लागी नयाँ लुगा हस्तान्तरण गरे । नयाँ लुगा विना नै आश्रमका अनाथ बालबालीका दशैं मनाउदै भन्ने समाचार दरौंदी दैनिकमा प्रकाशीत भएपछि आफ्नो जन्मदिनको अबसरमा उनिहरुलाई सहयोग गरेको उनको भनाई छ । आश्रममा रहेकी आशकुमारी गुरुङ र पुर्णिमा गुरुङलाई एक एक जोर कुर्ता सुरवाल र जुत्ता तथा कुमार गुरुङलाई एक जोर सर्ट पाईन्ट ज्याकेट र जुत्ता हस्तान्तरण गरिएको हो । उनिहरुको रोजाई अनुसार नै कपडा खरिद गरेको दानीले जानकारी दिए । दानीले दशैं खर्चस्वरुप उनिहरुलाई प्रतिब्यक्ति पाच सय रुपैया पनि दिएका छन् । विगतका बर्षमा दाताहरुले आश्रमका बालबालीकालाई नयाँ लुगा दिएपनि यसपाली कसैले पनि सहयोग गरेका थिएनन् । नयाँ लुगा पाएपछि बालबालीका खुसी भएका छन् ।




