| शनिबार, अशोज ९, २०८३

सहिदस्मृति माविमा एसईई तयारी गरिरहेका विद्यार्थीलाई न्यानो कपडा र जुत्ता वितरण

सहिद लखन गाउँपालिका वडा नं. ७ को कार्यालयले सहिदस्मृति माविको आउँदो एसईईको नतिजा सुधारका लागि विशेष प्रयत्न गरेको छ । यसअघि पनि पालिकाभरिमै उत्कृष्ट नतिजा ल्याएकाले त्यसलाई कायम राख्दै अझ सुधार गर्न जोडदार रुपमा लागेको वडाअध्यक्ष शरण श्रेष्ठले जानकारी दिए ।

गाउँपालिका तथा वडा कार्यालयको पहलमा विद्यालयले एसईई दिने विद्यार्थीका लागि छात्रबासमा राखेर पढ्ने, पढाउने व्यवस्था गरेको छ । गाउँपालिका कार्यालयले छात्रबासमा बस्ने विद्यार्थीहरुका लागि खाट, बिछ्यौना लगायतका सामग्री हस्तान्तरण गरेको छ भने वडा कार्यालयले विभिन्न दाता जुटाएर एसईई दिने ३० जना विद्यार्थीहरुलाई आउँदो तीन महिनासम्म पुग्ने गरी खाना तथा खाजाको प्रवन्ध गरेको छ । त्यस्तै उनीहरुलाई आउँदो तीन महिनासम्म पुग्ने गरी कलम, कापी, जोमेट्रीबक्स लगायतका स्टेशनरी सामान र झोला प्रदान गरेको छ ।

वडा कार्यालयको समन्वयमा सहिद लखन गाउँपालिका ८ निवासी गोकुलबाबु थापाले एसईई तयारी गरिरहेका ३० जना विद्यार्थीहरुलाई न्यानो कपडा तथा जुत्ता प्रदान गरेका छन् । ८७ हजार ७५० रुपैयाँ बराबरको सो सामग्री प्रदान गरेका वडाअध्यक्ष शरण श्रेष्ठले जानकारी दिए । पर्यटन व्यवसायी खड्का सो विद्यालयका पूर्व विद्यार्थी समेत रहेका उनले बताए ।

यसअघि वडा कार्यालयकै समन्वयमा सहिदलखन ८ घर भई राजधानीमा रहेर पर्यटन व्यवसाय गर्ने नवराज अम्गाईँले पनि एसईईमा सहभागीहुने ३० जना विद्यार्थीलाई एसईई दिने समयसम्म पुग्नेगरी खाजा र खानाका लागि एकलाख ७७ हजार रुपैयाँ प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्