
प्रभावकारी बन्दै बालिका शिक्षा र साक्षरता कार्यक्रम
जिल्लामा बालिका शिक्षा र साक्षरता कार्यक्रम प्रभावकारी बन्दै गएको छ । रुम टु रिड र एकिकरण नेपालको साँझेदारीमा जिल्लाका अधिकांश पालिकाका विभिन्न विद्यालयहरुमा संचालित यी दुवै कार्यक्रम प्रभावकारी बन्दै गएको पाइएको हो ।
अनुगमनका क्रममा कार्यक्रमको सकारात्मक प्रभाव देखिएको हो ।
जिल्ला समन्वय समिति प्रमुख मोहनबहादुर थापा मगर, पालुङटार नगरपालिकाका प्रमुख विबस चिन्तन, पालिकाका प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर बिसी, रुम टु रिडका वरिष्ठ फिल्ड व्यवस्थापक शुशिल तिम्सिना, संस्थाकी वरिष्ठ कार्यक्रम अधिकृत सुस्मा राई, प्रशासन तथा बित्त अधिकृत कृशव पौडेल, एकिकरण नेपालकी कार्यक्रम व्यवस्थापक रुषा तामाङ र साक्षरता कार्यक्रम अधिकृत होमबहादुर थापासहितको टोलीले जिल्लाको पालुङटार नगरपालिका ५ स्थित भवानी माध्यमिक विद्यालयको अवलोकन तथा अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा विद्यालयको ९ कक्षामा अध्ययनरत छात्रा सबिना मियाँले बालिका शिक्षा अन्तरगतको जीवन उपयोगी शिक्षाले आफूहरूको आत्मबल बढेको बताइन् । “पहिले म अगाडि उभिएर बोल्न पनि सक्थिन तर अहिले धेरै मानिसको अगाडि निर्धक्कसँग बोल्न सक्छु” उनले भनिन् । मियाँ जस्तै सोही विद्यालयमा ९ कक्षामा अध्ययनरत्त अन्य छात्राहरुले पनि जीवन उपयोगी शिक्षाले आफूहरूको उत्साह, आँट र साहस बढेको बताएका छन् ।
बालिका शिक्षा कार्यक्रमको मुख्य उद्देश्य बालिकाहरुलाई माध्यमिक शिक्षा पूरा गर्न सहयोग गर्नु रहेको रुम टु रिडको वरिष्ठ कार्यक्रम अधिकृत सुस्मा राई बताउँछिन् । उनी भन्छिन्, ‘यो आठ वर्षिय कार्यक्रम हो । यस कार्यक्रममा हामीले बालिकाहरुलाई कक्षा ६ देखि १२ सम्म जीवन उपयोगी सीपमूलक शिक्षा प्रदान गर्छौँ ।’
जिल्लाको भिमसेनथापा गाउँपालिका, गोरखा नगरपालिका, सिरानचोक गाउँपालिका र पालुङटार नगरपालिकाको १९ वटा विद्यालयहरुमा बालिका शिक्षा कार्यक्रम लागु भएको उनले जानकारी दिइन् । रुम टु रिडले जिल्लामा विगत ३ वर्षदेखि उक्त कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताएकी छिन् ।
राईका अनुसार कार्यक्रमले छात्राहरूलाई जीवन उपयोगी सीपमूलक शिक्षा प्रदान गर्नुका साथै आत्मविश्वास बढाउने खालका गतिविधिहरू सञ्चालन गर्दै आएको छ । कार्यक्रमले आफ्ना अधिकारका बारेमा छात्राहरूलाई सचेत बनाउँदै आदर्श व्यक्ति बन्ने बारे, भविष्यमा गर्ने पेसाको बारे, यौनजन्य हिंसा र दुव्र्यवहार रोकथाम सम्बन्धमा, चिनेजानेकाबाट हुने बलात्कार सम्बन्धमा, स्वास्थ्यका लागि पोषण तथा शैक्षिक योजनाको निर्माणका बारेमा शिक्षा दिने गरेको उनको भनाई छ ।
सोही विद्यालयमा संचालित साक्षरता कार्यक्रम पनि निकै प्रभावकारी देखिएको छ । रुम टु रिड र एकिकरण नेपालको साँझेदारीमा संचालित साक्षरता कार्यक्रमले प्रारम्भिक कक्षाका बालबालिकाहरुमा पढ्ने सिप र पढ्ने बानीको बिकास गरेको विद्यालयका प्रध्यानध्यापक उजराज गिरीले बताए ।
साक्षरता कार्यक्रम विद्यालय तहको कक्षा १, २ र ३ मा अध्ययनरत्त बालबालिकाहरुलाई केन्द्रित गरेर बनाइएको कार्यक्रम हो । कार्यक्रमको मुख्य उद्देश्य बालबालिकाहरुलाई नेपाली भाषाको स्वतन्त्र पाठक बनाउनु रहेको साक्षरता कार्यक्रम अधिकृत होमबहादुर थापालले बताउँछन् । ‘यस कार्यक्रमले हाम्रो मातृ भाषा, नेपाली भाषालाई प्राथमिकता दिएको छ’, उनले भने, ‘यस कार्यक्रममा सहभागि बालबालिकाहरु कक्षा १ बाट ३ सम्म पुग्दा नेपाली स्वतन्त्र रुपमा पढ्न र लेख्न सक्ने बनाउनु कार्यक्रमको उद्देश्य हो ।’
साक्षरता कार्यक्रम जिल्लाको ११ मध्ये ९ पालिकाहरुमा संचालन भईरहेको उनले जानकारी दिए । ‘७४ वटा विद्यालयहरुमा गाउँपालिकाले मात्रै लगानी गरेर साक्षरता कार्यक्रम संचालन गरेको छ । ४५ वटा विद्यालयमा गाउँपालिका र संस्थाले साँझेदारी गरेर कार्यक्रम गरेका छौ भने १०० वटा विद्यालयमा संस्थाको मात्रै लगानी छ’, साक्षरता कार्यक्रम अधिकृत थापाले बताए ।
विद्यालयका प्रध्यानध्यापक उजराज गिरीले बालिका शिक्षा कार्यक्रम र साक्षरता कार्यक्रमले निरन्तरता पाउनुपर्ने बताएका छन् । आर्थिक, सामाजिक र चेतनाको हिसाबले पिछडिएका समुदायका बालबालिकाहरूलाई केन्द्रमा राखेर यस प्रकारका कार्यक्रम सञ्चालन गरिनुपर्ने उनको भनाई छ ।




