| आइतवार, अशोज १०, २०८३

कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा, परीक्षा हुने नहुने अनिश्चित

गोरखामा कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भईसकेको छ । तर परीक्षाको अघिल्लो दिनसम्म परीक्षा हुने नहुने अनिश्चित रहेको शिक्षा विकास तथा समन्वय इकाई गोरखाले जनाएको छ ।


सो कार्यालयले कक्षा १२ को परीक्षाका लागि जिल्लाभर १० वटा परीक्षा केन्द्र र केन्द्राध्यक्षहरु तोकिसकेको छ ।
‘परीक्षा केन्द्र र केन्द्राध्यक्ष तोकिसक्यौँ । आज (मंगलबार) मात्र सबै परीक्षा केन्द्रहरुमा उत्तरपुस्तिका पनि पठाइसकेका छौँ’, शिक्षा विकास तथा समन्वय इकाई अन्तरगत परीक्षा शाखाका विश्व प्रकाश रेग्मीले भने, ‘सबै शिक्षकहरु आन्दोलनमा हुनुहुन्छ । शिक्षक आन्दोलनका कारण केन्द्राध्यक्षहरुलाई अभिमुखीकरण पनि गराउन पाएनौँ ।’ केन्द्राध्यक्षको अभिमुखीकरण बाहेकको सबै तयारीहरु पूरा भएता पनि परीक्षा हुने नहुने अझैँ अनिश्चत रहेको उनले बताएका छन् ।


जिल्लाबाट यस वर्षको कक्षा १२ को परीक्षामा नियमिततर्फ २ हजार ४७६ जना र गे्रडबृद्धितर्फ १२ सय ५० गरी जम्मा तीन हजार ७५० जना परीक्षार्थीहरु सहभागी हुँदै छन् । परीक्षा संचालनका लागि जिल्लाभर १० वटा परीक्षा केन्द्रहरु तोकिएको रेग्मीले जनाए । उनी भन्छन्, ‘गोरखा नगरपालिकामा ५ वटा, पालुङटारमा २ र भिमसेनथापा, आरुघाट र सिरानचोक गाउँपालिकामा १–१ वटा गरेर जम्मा १० वटा परीक्षा केन्द्रहरु तोकिएको छ ।’


सरकारले शिक्षकहरु उपस्थिति नभए निजामती कर्मचारीहरुबाट परीक्षा संचालन गराउने भनेता पनि त्यो सहज नभएको शिक्षा विकास तथा समन्वय इकाईको परीक्षा शाखा प्रमुख विश्व प्रकाश रेग्मीले बताए । ‘निजामती कर्मचारीहरुबाट परीक्षा संचालन गराउन चुनौती छ । शिक्षकहरुले पछि उत्तरपुस्तिका जाँच गर्न मानेनन् भने गाह्रो हुन्छ’, उनले भने ।
कार्यालयले राष्ट्रिय परीक्षा बोर्डसँग निजामती कर्मचारीहरुद्वारा १२ कक्षाको परीक्षा संचालन गर्नु अस्वभाविक हुने भन्दै पत्रचार समेत गरिसकेको उनले जानकारी दिए । साथै, कार्यालयले कक्षा १२ को परीक्षा संचालनका लागि आन्दोलनरत शिक्षकहरुलाई विद्यालय फर्काउन अनुरोध गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्