| मङ्लबार, कार्तिक २४, २०८३

यार्सागुम्बा संकलनमा बालबालिकाको प्रयोग निषेध गर्ने कानून बनाउन माग

गोरखाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाईँले यार्सागुम्बा संकलनको काममा १८ बर्षमुनिका बालबालिका प्रयोग गर्न नहुने कानून बनाउनु पर्नेमा जोड दिएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा जरुरी महत्वका तीन प्रस्ताव प्रस्तुत गर्दै उनले अति उच्च हिमाली भेगमा यार्सागुम्बा संकलन गर्न बालबालिकालाई प्रयोग गर्नु बालश्रम शोषण हुने हुँदा यस्ता कार्यलाई निरुत्साहित गर्न उनले माग गरेका हुन् ।

नेपालका उच्च हिमाली भेगहरूमा हरेक वर्ष हजारौँ बालबालिका यार्सागुम्बा संकलन गर्न निर्मम प्रयोग गरिन्छन् भन्दै उनले ती कठोर मौसम, दुर्गम तथा जटिल भूगोल, र आधारभूत सुविधाको अभाव बीच जोखिमपूर्ण अवस्थामा बालबालिकाको प्रयोग गर्नु बालअधिकार विपरीत हुने उनको ठहर छ ।

‘अत्याधिक जाडो, हाई अल्टिच्यूड, अपर्याप्त खाना तथा जोखिमपूर्ण कामका कारण बालबालिकाहरू बिरामी पर्छन्’, सो प्रस्ताबमा भनिएको छ, ‘प्राथमिक उपचार तथा स्वास्थ्य सुविधा नहुँदा कैयौँ बालबालिकाले ज्यान गुमाउनुपरेको छ । जङ्गलमा रहँदा तिनीहरू प्राकृतिक जोखिम, जंगली जनावर, र हिंसात्मक घटनाहरूको शिकार बन्न सक्छन् । तसर्थ १८ वर्षमुनिका बालबालिकालाई यार्सागुम्बा संकलन गर्न रोक लगाउन प्रस्ताब गर्दछु ।

साथै बालश्रम रोक्नका लागि स्थानीय तह, सुरक्षा निकाय, र सामाजिक संस्थाहरूले कडाइका साथ कार्यान्वयन गर्न प्रस्ताब गर्दछु । यार्सागुम्बा संकलनका लागि जाने परिवारहरूलाई वैकल्पिक जीविकोपार्जनका उपायहरू सिकाउन, आपतकालीन स्वास्थ्य सहायता र सुरक्षित आश्रयको व्यवस्था गर्न, बालबालिकालाई सुरक्षित आवास, उचित खाना, र आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न आग्रह गरिएको छ ।

त्यस्तै यार्सागुम्बा संकलनको काममा वयस्कहरूलाई मात्र सीमित गर्न, यार्सागुम्बा संकलनकर्ताहरूलाई उचित पारिश्रमिक तथा सुरक्षाको ग्यारेन्टी गर्ने नीति अवलम्बन गर्न सुझाव पेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्