
तीन महिने आधारभूत सिलाई कटाई तालिम सुरु, एड्भान्स तालिम सम्पन्न
जिल्लामा तीन महिने आधारभूत सिलाई कटाई तालिम सुरु भएको छ । गोरखा उद्योग वाणिज्य संघको आयोजना तथा महिला उद्यमी बिकास समिति गोरखाको समन्वयमा तालिम आयोजना गरिएको हो ।
शुक्रवारबाट सुरु भएको तालिममा २३ जना महिलाहरुको सहभागीता रहेको छ । तालिम अवधिभर कमला कुँवरले प्रशिक्षण दिने बताइएको छ । तालिमको शुक्रवार एक कार्यक्रमकाबीच गोरखा नगरपालिका उपप्रमुख मसलीमाया थोकरले उद्घाटन गरेकी छन् ।
गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष भगवानबाबु मास्केको अध्यक्षतामा भएको कार्यक्रममा गोनपा उपप्रमुख थोकरको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै उपप्रमुख थोकरले यस्ता तालिमले महिला उद्यमीहरुलाई व्यवसायिक बन्न सहयोग पुग्ने बताइन् । तालिमका लागि दुई थान जुकी सिलाई कटाई मेसिन उपलब्ध गराउने प्रतिवद्धता समेत उनले व्यक्त गरिन् । समूहगत रुपमा व्यवसाय गर्न चाहनेलाइृ नगरपालिकाबाट सहयोग समेत हुने उनले बताइन् ।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष मास्केले व्यवसाय संचालनका लागि दर्ता प्रक्रिया लगायत वित्त व्यवस्थापनमा समेत संघले सहजिकरण गर्ने बताए ।
कार्यक्रमकै अवसरमा यसअघि संचालित आधारभूत तथा एडभान्स सिलाई कटाई तालिमको समापन समेत गरिएको छ । ६ महिनासम्म संचालित उक्त तालिममा ३८ जना सहभागी थिए ।
कार्यक्रममा प्रशिक्षार्थीको तर्फबाट सुरक्षा अर्याल, मनिषा परियार, प्रशिक्षक कमला कुँवर, महिला उद्यमी बिकास समितिकी अध्यक्ष रिता श्रेष्ठ, गोरखा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अस्मकबाबु श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।




