| मङ्लबार, कार्तिक २४, २०८३

राजनीति कमाउ धन्दा हुन पुग्यो : डा. भट्टराई

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले पछिल्लो समय राजनीति कमाउ धन्दा हुन पुगेको बताएका छन् । मंगलवार गृह जिल्ला गोरखामा पत्रकार भेटघाट गर्दै उनले राज्यसत्ताको दोहन गर्ने र कमिसनको पैसाले कार्यकर्ता पाल्ने प्रवृति हावि भएको अभिव्यक्ति दिए । ‘पछिल्लो समयमा नेपालको राजनीतिक प्रवृति के भयो भने जसरी नि सत्तामा पुग्ने, राज्यसत्ताको दोहन गर्ने, ठेक्कापट्टा कमिसनखोरी गरेर पैसा जम्मा गर्ने अनि त्यसले कार्यकर्ता पाल्ने र चुनावी खर्च उठाउने,’ उनले भने, ‘राजनीति कमाउ धन्दा हुन पुग्यो दुर्भाग्य कुरा यो हो ।’

पुराना ढंगको राजनीति, पुराना तरिकाका नेताहरुको नेतृत्व शैली र नैतिक कमजोर धरातलले देश संकटतर्फ धकेलिएको भन्दै उनले यसलाई बचाउन बिकल्पको खोजी गर्नुपर्ने बताए । ‘पुरानो राजनीतिक शक्ति र पुराना नेताहरु जुन पटक पटक पालैपालो सत्तामा बसिरहनुभएको छ, उहाहरुको कुनै विश्वसनियता पनि रहेन, देश बनाउने भिजन पनि छैन, त्यसैले जनताले बिकल्प खोजिरहेका छन्, त्यसको निश्चित दिशा दिनुपर्छ भन्ने हो, म त्यसमा लागि परेको छु,’ भट्टराइले भने । सबै दल मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउनु नै उचित बिकल्प रहेको उनको भनाइ छ ।

बिचार र निष्ठाको दृढता नभएको व्यक्ति भन्दै उनले प्रचण्डको टिप्पणी समेत गरे । भने, ‘प्रचण्ड नेपाली राजनीतिमा कुनै बिचार, आस्था र निष्ठाको दृढता नभएको व्यक्ति हो । सिधै झुठ बोल्दिने, बोली परिवर्तन गरिदिने । पार्टीभित्र पनि सत्तामा हुनुप¥यो, राज्यको पनि सत्तामा भइराख्नुप¥यो, त्यसका निम्ति जे पनि गर्दिने ।’ प्रचण्डको उक्त स्वभाव पहिले देखि नै आफूलाई थाहा भएको र अहिले व्यवहारमा समेत देखिएको भट्टराइले बताए ।

२०८४ को निर्वाचनमा चुनावको सन्दर्भमा उनले आफू सत्तामुखी राजनीतिमा आस्था राख्ने मान्छे नभएको तर आवश्यकता अनुसार चुनाव लड्न पनि सक्ने धारणा व्यक्त गरे । ‘राजनीतिमा रिटायर हुने भन्ने चाहि हुदैन, व्यक्तिगत रुपमा मलाई सत्तामा जाने लोभ छैन, तर आवश्यकता अनुसार म चुनाव लड्न पनि तयार छु,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्