| मङ्लबार, कार्तिक २४, २०८३

कांग्रेसको सिरानचोक सम्मेलन, विकास बजेट पारदर्शी बनाउनु पर्नेमा जोड

नेपाली कांग्रेसको सयदिने अभियानअन्तर्गतको सिरानचोक गाउँपालिका सम्मेलन सोमबार सम्पन्न भएको छ । पार्टीको गाउँ कार्यसमितिको आयोजनामा सम्पन्न भएको कार्यक्रममा अबको दिनमा कांग्रेसले घरदैलो कार्यक्रमलाई तिब्र रुपमा अघि बढाउने विषयमा छलफल भएको गाउँ कार्यसमितिका सभापति भक्तबहादुर गुरुङले बताए ।

साथै वडा–वडामा पुगेर जनताको गुनासो तथा समस्या सुनी समाधानको उपाय खोज्ने उनले बताए । बेरोजगारलाई रोजगारीको व्यवस्था गर्ने कुरा पनि प्राथमिकतामा राखिएको उनले जानकारी दिए । सांगठनिक तथा विकास निर्माणको कामलाई सशक्त गर्न भूमिका खेल्नुपर्ने साथै विकास बजेटको कार्यान्वयनको चरणमा पारदर्शी गराउनका कांग्रेसले भूमिका खेल्नुपर्ने बारेमा पनि सम्मेलनमा कुरा उठेको थियो ।

गाउँ कार्यसमितिका सभापति भक्तबहादुर गुरुङको अध्यक्षता तथा गण्डकी प्रदेशका मुख्यमन्त्री तथा पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको सम्मेलनमा अर्का केन्द्रीय सदस्य तथा प्रदेश सरकारका पूर्वमन्त्री सरस्वती अर्याल तिवारी, राष्ट्रिय सभाकी सदस्य तथा कांग्रेस नेतृ कमला पन्त, केन्द्रीय सदस्य अब्दुर सतारलगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

त्यस्तै जिल्ला सभापति नन्दप्रसाद न्यौपाने, गण्डकी प्रदेश कमिटीका सदस्य प्रकाशचन्द्र दवाडी, महिला संघकी जिल्ला अध्यक्ष तथा पूर्व प्रदेश सभा सदस्य मनकुमारी गुरुङ, गण्डकी प्रदेश स्थानीय तह समन्वय विभागका प्रमुख पूर्ण दाहाल, गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङलगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्