
गोरखामा यो वर्ष चार प्रतिशतले धान उत्पादन घट्ने अनुमान
गोरखामा यो वर्ष धान उत्पादन चार प्रतिशतले उत्पादन घट्ने अनुमान छ । रोग, किरा, बेमौसमको बर्षा र धानमा बाला नलाग्ने समस्याका कारण यो वर्ष चार प्रतिशत कम धान उत्पादन हुने कृषि ज्ञान केन्द्र गोरखाले अनुमान गरेको छ ।
गत वर्ष १० हजार ८६५ हेक्टर क्षेत्रफलमा करिब ४१ हजार ८८८ मेट्रिकटन धान उत्पादन भएकोमा यसबर्ष सोही क्षेत्रफलमा ४ प्रतिशत कम अर्थात जम्मा ४० हजार २१२ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको ज्ञानकेन्द्रका प्रमुख प्रकास बस्ताकोटीले बताए । ‘यो वर्ष जिल्लामा धान उत्पादन घटेको छ । विभिन्न पक्षहरुको अनुसन्धान गरेर हामीहरुले ४ देखि ५ प्रतिशतले उत्पादन घट्ने अनुमान गरेका छौँ । वास्तविक तथ्याङ्क भने आउन बाँकी छ’, बस्ताकोटीले भने ।
रोग, किरा, बेमौसमको वर्ष र धानमा बाला नलाग्ने समस्याका कारण उत्पादन घट्न सक्ने केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीले बताए । ‘यो वर्ष जिल्लाका धेरै धान उत्पादन हुने क्षेत्रहरु छेवेटार, तारानगर र नयाँसाँघु लगायत क्षेत्रहरुमा लगाइएका साबित्री जातका धानहरुमा बाला नलाग्ने समस्या देखिएको छ, जसका कारण गत वर्षको तुलनामा यो वर्षको उत्पादन घट्ने अनुमान छ’, उनले भने, ‘अस्ति भर्खरै परेको बेमौसमको वर्षका कारण पनि धान उत्पादन एक प्रतिशतले घटेको छ । साथै, यो वर्ष उत्पादन घट्नुको प्रमुख कारणहरु नेकब्लास्ट नामक रोग र गवारो किरा पनि हो ।’
यतिबेला किसानहरुलाई धान कट्न र थन्क्याउन भ्याईनभ्याई छ । हाल ७५ प्रतिशत भन्दा बढी धान कटानी भइइसकेको कृषि ज्ञान केन्द्र गोरखाले जनाएको छ । मंसिरको पहिलो हप्ताभित्र सबै धान भित्र्याइसक्ने केन्द्रको भनाइ छ ।




