
देउसी भैलोको पैसाले विद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण
लियो क्लव अफ गोरखाले देउसी भैलो खेलेर संकलन भएको रकमबाट विद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण गरेको छ । क्लवले केही दिनअघि एक कार्यक्रमका बीच पालुङटार नगरपालिका–८ दुभारस्थित दुभार आधारभुत विद्यालयमा अध्ययनरत्त ३० जना विद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण गरेको हो ।
विद्यार्थीहरुलाई कापी, सिसाकलम लगायत अति आवश्यक स्टेशनरी सामाग्रीहरु वितरण गरिएको लियो क्लव अफ गोरखाले जनाएको छ । गोरखा सदरमुकाम क्षेत्रमा ४ दिनसम्म देउसी भैलो खेलेर संकलन भएको रकमबाट उक्त स्टेशनरी सहयोग गरिएको लियो जिल्ला परिषद ३२५ जे नेपालका उपाध्यक्ष लियो बालकृष्ण परियारले बताए । अझैँ २–३ वटा विद्यालयमा पुगी स्टेशनरी वितरण गर्ने तयारी भइरहेको उनले जानकारी दिएका छन् ।
लियो दिनिसा ढकालको संयोजकत्व एवं लियो क्लव अफ गोरखाका अध्यक्ष मिलन उपरकोटीको अध्यक्षतामा सम्पन्न स्टेशनरी वितरण कार्यक्रममा लियो जिल्ला परिषद ३२५ जे नेपालका उपाध्यक्ष लियो बाल कृष्ण परियार, दुभार आधारभुत विद्यालयका प्रअ रामचन्द्र परियार, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुवन बहादुर खड्का लगायतको उपस्थिति रहेको थियो ।




