
हिमाली भेगका विद्यार्थीलाई न्यानोका सहयोगी सामग्री वितरण
चिसो बढ्दै गएपछि गोरखाको हिमाली भेगका विद्यार्थीलाई विभिन्न सहयोगी सामग्री प्रदान गरिएको छ । चुमनुब्री गाउँपालिका–६ चुम्लिङस्थित सिद्ध गणेश आधारभूत विद्यालयको छात्रवासमा बस्ने विद्यार्थीहरुलाई तातोपानीका लागि सोलार, स्वीटर तथा सुधारिएको चुल्हो जडान गरिएको हो ।
गोरखा भूकम्प गएदेखि यस विद्यालयलाई सहयोग गर्दै आएका तेञ्जिङ इट डोल्मा हेल्प नेपाल र चुम कम्युनिटी स्कुल प्रोजेक्टले विद्यालयमा सोलार प्रविधिजडित पानी तताउने उपकरण र सुधारिएको चुल्हो तथा स्वीटर वितरण गरेको हो । विद्यार्थीहरुलाई जाडो याममा चिसोबाट बच्न सहयोगी सामग्री प्रदान गरिएको चुम कम्युनिटी स्कुल प्रोजेक्टका धावा ग्याल्जेन लामाले जानकारी दिए ।

वडा नं. ६ को एकमात्र सो आवासीय विद्यालयमा बाथरुम भने गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयसँग समन्वय गरी वडा कार्यालयले निर्माण गरेको वडाअध्यक्ष सरोज लामाले बताए । ‘वडा कार्यालयले माग गरेअनुसार सामाजिक विकास मन्त्रालयबाट सात लाख बजेट प्राप्त भएको थियो । त्यसबाट दुई कोठे बाथरुम निर्माण भएको छ’, उनले भने । जाडोयाममा हिउँ परेर पानी अत्याधिक चिसो हुने भएकाले विद्यार्र्थीहरुलाई सहज होओस् भनेर सहयोग जुटाइएको उनले बताए । सोलार जडान गरेर तातोपानीको व्यवस्था भएसँगै अब त्यो समस्या नहुने वडाध्यक्ष लामाले बताए ।
सो विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई न्यानो पोशाक समेत वितरण गरिएको छ । हेल्प नेपालले उनीहरुलाई पोशाक वितरण गरेको हो । उक्त बिद्यालयमा हाल २० जना विद्यार्र्थी आवासीय सुविधासहित अध्ययनरत छन् ।





